बनेपा, असार २१ । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१, आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीकाअनुसार बुधबार राति सोही स्थानकी अन्दाजी ९/१० वर्षीया एलिसा तामाङलाई घरनजिकै कुटपिट गरी हत्या गरेर फालेको आरोपमा एकजनालाई पक्राउ गरिएको हो ।
पक्राउपर्नेमा बारा जिल्ला गटहला गाउँपालिका–४ का जोखन मन्सुरी रहेका छन् ।
मन्सुरी र सोही ठाउँकी एक महिला बाख्राको खोरमा आपत्तिजनक अवस्थामा बालिकाले देखेपछि अभिभावकलाई सुनाउने डरले बालिकालाई तानेर लगी मारेर भाग्न खोजेको र गाउँलेले देखेपछि पक्राउ गरेर प्रहरीलाई बुझाएको मरासिनीले बताए ।
बालिका हत्यामा संलग्न मन्सुरी र ती महिलालाई आक्रोशित भीडले कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते दुवैजनाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
दुवैजना प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ ।
मन्सुरी विगत ९ महिनादेखि सोही ठाउँमा निर्माण मजदुरको काम गर्दै आएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्