
सोलुखुम्बु, फागुन १४ । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करिब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ ।
उक्त गाउँपालिका–४, खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुंगादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोही दिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागेपनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे आमाको शव जोरसल्लेस्थित दूधकोसी नदीको किनारमा फेलापरेको थियो ।
छोरा–छोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘उनीहरुको खोजी जारी राखेका छौं’–जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भने–‘आजसम्म उनीहरुको अवस्था अज्ञात छ । सबैले खोजीमा सहयोग गरिदिनुपर्यो ।’
प्रहरीकाअनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।
मृतकका छोरा–छोरीको चप्पल र कपडासमेत दूधकोसी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।
प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनाका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुंगा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाईसमेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।
आमाको शव नदी किनारमा भेटिएको र छोरा–छोरीको कपडासमेत फेलापरेकाले उनीहरूसँगै खोलामा हामफालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
बेपत्ता ङिमाडोमा र कुंगादोर्जी सोही गाउँपालिकाको–७ मा रहेको हिमालयन आधारभूत विद्यालयको होस्टलमा बस्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्