
काठमाडौं, फागुन १४ । सांसदले सरकारले शान्ति–सुरक्षाको प्रत्याभूति दिन नसकेको भनी गुनासो गरेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले समाजमा मनोवैज्ञानिक त्रास खडा गर्ने उद्देश्यले दूरसन्चार सेवा प्रदायकको कार्यालयमा बम विस्फोट र देशका विभिन्न २१ स्थानका टेलिफोन टावरमा आगजनी गरेको भन्दै ‘शुक्रबार उक्त घटना भएपनि आजसम्म दोषी पक्राउ नपर्नु र कसले त्यस्तो घटना गराएको हो भन्ने पत्ता नलाग्नु आपत्तिजनक छ’–भने ।
आर्थिक समृद्धि र विकासको नाराका साथ सरकारले आफ्नो गतिविधि अगाडि बढाइरहेका बेला अन्तर्राष्ट्रिय लगानीकै कम्पनीमा बम विस्फोट र आगजनी हुनुजस्ता घटनाले थप अन्तर्राष्ट्रिय लगानी आउन नसक्ने चिन्ता गर्दै उनीहरुले दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरे ।
सांसद दीपा गुरुङले सो घटनाका मृतकको परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिन र आश्रित परिवारको शिक्षा, स्वास्थ्य र जीवनयापनको व्यवस्था गर्न माग गरिन् ।
सांसद बद्री पाण्डेले समाजमा आतंक मच्चाउने र बम पड्काएर जनजीवन त्रस्त बनाउनेलाई कारबाही हुन नसकेको र दोषी पक्राउ पर्न नसकेकामा आपत्ति प्रकट गरे ।
उनले के–कति कारणले सुरक्षामा कमजोरी देखियो, त्यसको उचित छानबिन हुनुपर्ने माग गरे ।
सांसद धना खतिवडा, नन्दा चपाइँ, प्रकाश पन्थ, प्रमिला कुमारी, युटोल तामाङ, रमेशजंग रायमाझी र रमेशप्रसाद यादवले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्