२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


घुम्ती शिविरबाट २ सय १५ जना चेपाङ समुदायलाई नागरिकता


0
Shares

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ कोलभञ्याङमा सञ्चालित एकीकृत घुम्ती शिविरबाट २ सय १५ जना चेपाङ समुदायका नागरिकले लाभ लिएका छन् । दुर्गम भेगका नागरिकलाई लक्षित गरी दुई दिने शिविर सञ्चालन गरिएको हो ।

इच्छाकामना गाउँपालिका वडा नं. १ की चनिमाया चेपाङले ७५ वर्षको उमेरमा नागरिकता पाइन् । जीवनको उत्तरार्धमा नागरिकता लिन पाउँदा उनी औधी खुसी भइन् ।

इच्छाकामना गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनले दुई दिने घुम्ती शिविरमार्फत विकट बस्तीमा नागरिकता वितरण गर्ने कार्यक्रम आयोजना गरेपछि चनिमायाँ जस्तै सदरमुकामसम्म जान नसक्ने २ सय १५ जनाले नागरिकतासँगै मतदाता परिचयपत्र पाए ।

गाउँमै नागरिकता पाएपछि सदरमुकामसम्म पुग्नुपर्ने झन्झटको अन्त्य भएको स्थानीय बताउँछन् ।

नागरिकता नहुँदा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्तासमेत लिन पाएका थिएनन् । विपन्न बस्तीका स्थानीयलाई सदरमुकामसम्म आउन समेत समस्या हुने हुँदा गाउँपािलकासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय चितवनले गाउँमै शिविर सञ्चालन गरेर नागरिकता तथा मतदाता परिचयपत्र वितरण गरिएको हो ।

सदरमुकामसम्म जान नसक्दा धेरैजसो एकल महिला र वृद्धवृद्धा समस्यामा परेका थिए ।

भौगोलिक विकटताको कारण जिल्लाका अधिकांश सरकारी सेवाबाट बञ्चित हुँदै आएका विकटका स्थानीय प्रशासन र गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेपछि खुसी छन् ।

दूरदराजमा बसोबास गर्ने सबैले नागरिकता लिन सकोस् भन्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङ बताउँछिन् ।

देशकै सुगम जिल्लाको भनेर चिनिने चितवनमा अधिकांस चेपाङ समुदाय भौगोलिक विकटताकै कारण सरकारी सेवासुविधाबाट बञ्चित हुन बाध्य छन् ।

जहाँ राज्यको समेत ध्यान पुग्न सकेको छैन । त्यसैले जिल्ला प्रशासन तथा इच्छाकामना गाउँपलिका मात्र नभई विकटका सबै बस्तीमा सम्बन्धित निकायले बेलाबेला जनमुखी कार्यक्रममार्फत सेवा दिनु आवश्यक छ ।