१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


यसकारण आन्दोलित छन्, गन्डकी मेडिकल कलेजका विद्यार्थी (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, फागुन १३ । पोखरास्थित गन्डकी मेडिकल कलेजले सरकारले तोकेको शुल्कभन्दा बढी रकम लिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

शुल्क बढाएको विरोध गर्दै २५ दिनदेखि कलेजमा ताल्चा लगाएका विद्यार्थीहरुले रिले अनशनसमेत सुरु गरेका थिए ।

तर, सोमबार बिहान कलेज प्रशासनले बल प्रयोग गरेर ताल्चा फोरेको छ ।

नेपाल सरकारको निर्णयअनुसार काठमाडौंबाहिरका मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनका लागि २०७३ देखि ४२ लाख ५० हजार रुपैयाँ शुल्क लिनुपर्ने प्रावधान रहेको छ ।

२०७३ सालअघि नै भर्ना भएकाहरुले भने ३८ लाख ५० हजार तिनुपर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।

तर, गन्डकी मेडिकल कलेजले ५० देखि ५५ लाखसम्म शुल्क लिइरहेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।

विद्यार्थीहरुसँग अतिरिक्त शुल्क भन्दै कलेजले बढी रकम उठाउन थालेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रिएका विद्यार्थीहरु गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण गराउन काठमाडौं आएका थिए ।

सरकारले तोकेकोभन्दा बढी शुल्क आफूहरुलाई तिर्न लगाएको र जसले बढी पैसा तिर्छ, उसैलाई भर्ना लिन थालेपछि कलेजका सबै विद्यार्थीहरु आन्दोलनमा उत्रिएको एमबीबीएस विद्यार्थी अनिल सिंहले बताए ।

गन्डकी मेडिकल कलेजले विद्यार्थीहरुलाई भर्ना भएको तीन वर्षमै ४० लाखभन्दा बढी रकम उठाएको र पैसा नतिरेका विद्यार्थीलाई परीक्षामासमेत सामेल हुन नदिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विद्यार्थीहरुले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मासमेत नारा लगाएका थिए ।

यस्तै, बढी शुल्क लिएको विरोधमा विद्यार्थीले २५ दिनदेखि कलेजमा ताल्चा लगाएर रिले अनशनसमेत सुरु गरेका थिए । तर, कलेजले सोमबार बल प्रयोग गरेर ताल्चासमेत फोड्यो ।

कलेजमा हाल ६०० विद्यार्थी अध्ययनरत् छन् ।

बढी शुल्क लिएको विषयमा नेपाल मेडिकल काउन्सिललेसमेत छानबिन समिति गठन गरी कलेजको अनुगमन गरेको थियो ।

अनुगमनले पनि कलेजले विद्यार्थीहरुसँग जथाभावीरुपमा शुल्क लिने गरेको पाएको थियो । तर, त्यो प्रतिवेदनसमेत हाल सार्वजनिक गरिएको छैन ।

आफैंले तोकेकोभन्दा बढी शुल्क लिइरहेको पाइएपनि सरकारले त्यसतर्फ कुनै चासो देखाएको छैन ।

भिडियो हेर्नुहोस्