
अक्कल कुँवर र कुमारविक्रम थापा (इमेज)
काठमाडौं, फागुन १३ । सांगठनिक एकताका बाँकी विषय टुंगो लगाउन गठित नेकपाको कार्यदलका बहुमत सदस्यले कार्यदलका संयोजकले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै समानान्तर प्रतिवेदन बुझाएका छन् ।
असन्तुष्ट सदस्यहरुले कार्यविभाजन, सांगठनिक एकता, जनवर्गीय संगठनको एकताको खाकासहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएका हुन् ।
कार्यदलका ९ जना सदस्यमध्ये बहुमत पाँचजना सदस्यले बुझाएको प्रतिवेदनमा पार्टी एकताका बाँकी काम र कार्यविभाजनलगायतका एजेन्डा टुंगो लगाउन ८ बुँदे मापदन्ड प्रस्ताव गरेका छन् ।
पार्टी एकताका बाँकी काम टुंगो लगाउन स्थायी कमिटी बैठकले गत पुस १३ गते गठन गरेको कार्यदल फागुन ९ गते बसेको सचिवालय बैठकले भंग गरेपछि असन्तुष्ट कार्यदलका सदस्यहरुले समानान्तर प्रतिवेदन बुझाएका हुन् ।
कार्यदलमा सबैभन्दा विवादित रहेको पदाधिकारीको जिम्मेवारीबारे यसअघि नै पार्टी सचिवालयले बनाएको एक पद एक व्यक्तिको मापदन्ड लागू गर्न सुझाव दिइएको छ ।
समानान्तर प्रतिवेदनमा ज्येष्ठतालाई आधार बनाएर पोलिट्ब्यूरो गठन गर्न र पार्टीका १० महत्वपूर्ण विभागमा स्थायी समिति सदस्य तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पोलिट्ब्यूरो सदस्यलाई प्रमुख बनाउन सुझाव दिइएको छ ।
जिल्ला र तलका कमिटीको एकीकरण गर्दा नेतृत्वमा साविकका कमिटीको निवर्तमान पदाधिकारीमध्ये वरिष्ठलाई राख्नुपर्ने सुझाव प्रतिवेदनमा छ ।
दुवै पार्टीका साविकका कमिटीका निवर्तमान सदस्यलाई राखेर जिल्ला र तल्ला कमिटी निर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, जनवर्गीय संगठन र सम्पर्क कमिटी तथा सम्पर्क मञ्चहरूको एकीकरणमा पनि जिल्ला र मातहत कमिटीहरूको एकीकरण गर्दा अवलम्बन गरिने मापदन्डहरू नै अवलम्बन गर्न सुझाव दिइएको छ ।
समानान्तर प्रतिवेदनमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग गठन गर्दा तिनका निवर्तमान सदस्यलाई कायम राखी बाँकी पूर्वकेन्द्रीय सदस्यबाट पूर्ति गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनमा दुवै घटकलाई मिलाएर २२१ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद बनाउन प्रस्ताव गरिएको छ ।
पाँच सदस्यीय कार्यदलको समानान्तर प्रतिवेदनमा स्थायी कमिटीबाट गठित कार्यदललाई सचिवालयबाट भंग गर्ने काम पार्टी विधानको धारा ३३ (ग) विपरीत भएको आरोप लगाइएको छ ।
समानान्तर प्रतिवेदन प्रस्तुत् गरेका कार्यदल सदस्यहरुले संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेलको अनिच्छाले कार्यदलले काम गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्