६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


केरुङ आइपुग्यो १० हजार थान मतपेटिका


0
Shares

३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका चीनबाट ल्याउन लागिएको छ ।

त्यसमध्ये पहिलो चरणमा बिहीबार नै १० हजार थान मतपेटिका रसुवाको केरुङ नाका आइपुगेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने करिब ८० हजार थानमध्ये आयोगले चीनबाट ३० हजार थान मतपेटिका ल्याउन लागेको छ ।

निर्वाचन आयोगसँग अघिल्लो संविधानसभा निर्वाचनमा जापानबाट ल्याइएका मतपेतिकामध्ये करिब ६० हजारको हाराहारीमा प्रयोग गर्न मिल्ने मतपेटिका छन् ।

अपुग रहेको मतपेटिका चीनबाट ल्याउन लागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले राजधानीलाई जानकारी दिए ।

चीनबाट ल्याउन लागिएका ३० हजार थान मतपेटिकामध्ये १० हजार थानको भन्सार व्यस्थापनको काम अघि बढिरहेको शर्माले बताए ।

‘हामीलाई केरुङ नाकामा १० हजार थान मतपेटिका आइपुगेको भन्ने सूचना आएको छ, त्यसको जाँचपास र छुटका लागि हामीले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेका छौं,’ प्रवक्ता शर्माले भने ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ३० हजार थान मतपेटिका ल्याउन टेन्डर आह्वान गरेको थियो । एनआईटी नामक कम्पनीले १० करोड ७९ लाख रुपैयाँमा टेन्डर सकारेको थियो ।

बाँकी २० हजार थान मतपेटिका पनि चीनबाट ल्याउने क्रममा रहेको र आकार ठूलो भएका कारण एकै पटक आउन नसकेको हुन सक्ने प्रवक्ता शर्माले बताए । –राजधानी दैनिकबाट