Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


एनसेलबारे प्रधानमन्त्रीले लेखा समितिमा जवाफ दिने


0
Shares

समितिको यही चैत २७ गते ११ बजेका लागि तय गरिएको बैठकमा प्रधानमन्त्रीले सरकारको सम्पूर्ण काम–कारबाहीकाबारेमा जानकारी गराउने समितिका सभापति डोरप्रसाद उपाध्यायले राससलाई बताए ।

रासससँग कुरा गर्दै सभापति उपाध्यायले समितिको अघिल्लो बैठकको निर्णयअनुसार एनसेलको पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्रीसँग नै जानकारी लिने निर्णय भएअनुसार सोमबार (आज) बैठकको मिति तय गरिएको हो ।

‘प्रधानमन्त्रीज्यूले बैठकमा नै सबै विषयमा प्रस्ट धारणा राख्छु भन्नुभएको छ । समितिले पनि आवश्यक तयारी गर्छ’–सभापति उपाध्यायले भने ।

एनसेलको पुँजीगत लाभकरका विषयमा परस्परविरोधी विषय सार्वजनिक भएपछि संसदीय समितिले प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

स्वीडेनको टेलिया सोनेरा कम्पनीले सरकारलाई पुँजीगत लाभकर नतिरी मलेसियन कम्पनी एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो ।

कम्पनीका नेपाली साझेदारले रु १० अर्ब पुँजीगत लाभकर तिरेपनि टेलियाले भने रु ४३ अर्ब पुँजीगत लाभकर हालसम्म तिर्न अस्वीकार गर्दै आएको छ ।

उता, अर्थ मन्त्रालयले लाभकरका विषयमा भइरहेको प्रगतिकाबारेमा जानकारी गराउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको छ ।

अर्थसचिव शान्तराज सुवेदीले विभागका महानिर्देशक चुडामणि शर्मालाई सो निर्देशन दिएका हुन् । रासस