अक्कल कुँवर (इमेज)
काठमाडौं, फागुन १२ । मुलुकका दुई ठूला दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आन्तरिक किचलोमा अल्झिएका छन् ।
मुलुकलाई विकास र समृद्धिको दिशामा डोहोर्याउने मुख्य जिम्मेवारी पाएका दलहरु नै आन्तरिक झमेलामा अल्झिएपछि राष्ट्रिय मुद्दाहरु ओझेलमा परेकामात्र छैनन्, मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने आशंकापनि उत्पन्न हुन थालेको छ ।
दलहरुको आन्तरिक द्वन्द्वको असर भने आमनागरिकमा बढ्दै गएको निराशामा प्रतिविम्बित हुन थालेको छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको वर्तमान सत्तारुढ दल नेकपा एकता घोषणासभामा शीर्ष नेताहरुले तीन महिनाभित्र एकता प्रक्रियाका सबै काम सम्पन्न गरिसक्ने उद्घोष गरेका थिए ।
तर, घोषणा भएको ९ महिना बितिसक्दापनि एकताले पूर्णता पाउनुको सट्टा पार्टीभित्र दिन–प्रतिदिन किचलो बढ्दै गएको छ ।
पार्टी एकताका बाँकी विषयमा आन्तरिक विवाद बढ्दै गएको छ भने सरकारप्रतिको असन्तुष्टिपनि बढ्दो छ ।
सांगठनिक एकताका बाँकी विषय टुंगो लगाउन बनेको कार्यदल विघटन भएपछि त विवाद झन् गहिरिँदै गएको छ ।
सत्तारुढ दलभित्रको विवादको प्रत्यक्ष असर सरकारका काम–कारबाहीमा स्पस्टरुपमा परेको छ ।
आन्तरिक विवादकै कारण सरकारका काम–कारबाही प्रभावकारी हुन सकेका छैनन् भने प्रधानमन्त्री र मन्त्रीहरुको समय जनताको कामभन्दा पार्टीको विवादमै बढी खर्च भइरहेको छ ।
यता, प्रतिपक्ष दल नेपाली कांग्रेसको हालतपनि सत्तारुढ दलकोभन्दा फरक छैन् ।
पार्टीको आन्तरिक जीवनलाई पुनर्ताजगी दिने भन्दै महासमितिको बैठक आयोजना गरियो । तर, महासमिति बैठकपछि आन्तरिक किचलो कम हुनुको सट्टा झन् बढ्दै गएको देखिन्छ ।
यतिसम्म कि महासमितिले सर्वसम्मत् पारित गरेको पार्टीको विधान आन्तरिक विवादले अझै केन्द्रीय समितिबाट पारित हुनसकेको छैन ।
विधानको मूल मुद्दामै संस्थापन र संस्थापनइतर पक्ष आमने–सामने उभिएका छन् ।
आन्तरिक किचलोकै कारण कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन ।
जनजीविकाका सवाल र सरकारका कतिपय गलत काम–कारबाहीको खबरदारी गर्नुपर्ने प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नबाट कांग्रेस चुकिरहेको छ ।
सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेका यी दुई दल आन्तरिक कलहले आ–आफ्नो मोर्चामा असफल बन्दै गएका छन् ।
ठूला दलभित्रको आन्तरिक समस्या र कमजोर प्रस्तुतिले मुलुक र जनताका जल्दाबल्दा समस्या ओझेलमा परिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्