Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘एकताको विषयमा पार्टीभित्र कुनै विवाद छैन’


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले पार्टीको तल्लो तहका कमिटी र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया केही दिनमै टुंग्याउने गरी गृहकार्य अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

बुधबार धनगढीमा भएको नेकपाको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले एकता प्रक्रिया टुंगिन अब धेरै दिन नलाग्ने दाबी गरे ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकरणमा अब विलम्ब नहुने बताए ।

एकताको विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबीसमेत उनले गरे ।

एक वर्षको अवधिमा सरकारले धेरै काम गरेको भन्दै प्रधानमन्त्री ओलीले बाँकी रहेको चार वर्षमा जनताका सबै अपेक्षा पूरा गर्ने जिकिर गरे ।

एकतामा फाटो ल्याउने प्रयास सम्भव छैन : दाहाल

भेलालाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले तल्लो तहसम्मको एकतालाई अब छिट्टै टुंगाउने बताए ।

समय–समयमा एकतामा फाटो ल्याउने प्रयास गरिएपनि त्यो सम्भव नभएको उनले उल्लेख गरे ।

प्रतिपक्षीहरुले ‘सरकारले काम गरेन’ भनेर फैलाएको हल्लाको तुक नरहेको उनको भनाइ थियो ।

‘सरकारले अहिले अघि सारेका योजनाहरु अबको चार वर्षमा पूरा हुनेगरी आधार तयार भइसकेको छ’–अध्यक्ष दाहालले भने ।

यस्तै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनताका आवश्यकता कम्युनिस्ट सरकारलेमात्र पूरा गर्नसक्ने दाबी गरे ।

कार्यक्रममा महासचिव विष्णु पौडेल, नेकपाका प्रदेश इन्चार्ज भीम रावल, नेकपाका स्थायी कमिटी सदस्य लेखराज भट्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगरलगायतको पनि उपस्थिति रहेको थियो ।