
गत बर्ष पुषमा आगो ताप्ने क्रममा २० बर्षीय कपिल जलेर घाइते भएको उनका पिता राउटे मुखिया वीरबहादुर शाहीले बताए । घाइते शाही अछामको भैरवस्थानका हुन् ।
बेल्जियमका डाक्टर लुक बुकुरसहितको टोलीले राउटे शाहीलाई उद्धार गरी बिहीबार काठमाडौं ल्याएको उद्धार टोलीका सदस्य लोक दाहालले बताए ।
उनलाई राउटे उत्थान प्रतिष्ठान र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको पहलमा उपचारका लागि काठमाडौं ल्याइएको हो ।
शाहीको अवस्था निक्कै गम्भीर रहेको उनको उपचारमा संलग्न डाक्टर अपाल लामिछानेले बताए । आगोले पोलेर उनको पाखुरा, ढाड र पेटमा घाउ भएको छ । लामो समयदेखि घाउ भएकाले उनको शरीरबाट गन्ध आइरहेको छ ।
राउटे समुदायले झारफुक र जडिबुटी उपचारमा मात्रै विश्वास राख्ने भएकाले लामोसमय सम्म शाहीको अस्पतालमा उपचार हुन नसकेको राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बताइन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्