Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश


0
Shares

माले, फागुन ७ । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् ।

माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि दश लाख ५० हजार डलर सम्पत्ति शुद्धिकरण गरेको अभियोग लगाइएको छ ।

उनलाई पक्राउ गर्न आदेश दिने अदालतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शक्ति र पदको दुरुपयोग गरेर यमिनले सम्पत्ति शुद्धिकरणसम्बन्धी अवैध काम परेको प्रमाण र आधारहरु पेस भएका छन् ।’

राजधानी नजिकै रहेको धुनिधु कारागारमा उनलाई राख्न सकिने पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

माल्दिभ्समा निकै प्रभावशाली नेता मानिने यमिन गत सन् २०१३ देखि शक्तिमा आएका थिए । त्यसपछि उनले आफ्ना विपक्षीहरुलाई अनेक अभियोग लगाउँदै कारागार पठाउन लगाएका थिए ।

नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले केही हप्ता पहिले एक वक्तव्य जारी गर्दै पूर्वराष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो । (एजेन्सी)