
एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३० भेनमभन्दा बढी दिनु नपरेको पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ ।
स्विजरल्यान्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा.विजय पौडेल डा.कालिदास अधिकारी प्रा.डा.सन्जीव शर्मा र डा.छविलाल थापासमेतले उपचारको विधि र सर्पका जातिका विषयमा अनुसन्धान गरेका थिए ।
अनुसन्धानकर्ता डा.पौडेलका अनुसार झापाको चारआलीस्थित सैनिक क्याम्प र दमकको रेडक्रस कार्यालय एवम् चितवनको भरतपुर अस्पतालमा दुई वर्षसम्म गरिएको अनुसन्धानले पनि कम डोजको औषधिबाट बिरामी निको पार्न सकिने पुष्टी गरेकोे हो ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको यो एक भाइल औषधिको रु दुई हजार परेकामा औषधिको मात्रा घटाउँदा सरकारको करोडौंँ रुपैयाँ बचत हुनाका साथै एन्टिस्नेक भेनमको अभाव नहुने पनि देखिएको छ
सर्पका जातका विषयमा पनि अध्ययन जारी छ । नेपालमा ८९ जातका सर्प पाइन्छ । जसमध्ये आठ जातका सर्प विषालुुु हुन्छन् । चितवन र आसपासका जिल्लामा बढी मात्रामा कोभ्रा र करेत जातका विषालु सर्प देखिने गरेका छन् । बर्षेनि देशभरमा करिव २० हजार जनालाई सर्पले टोक्ने गरेको छ । जसमा एक हजारको मृत्यु हुने गरेको छ ।
सर्पले टोकेको पाँच मिनेटदेखि २४ घन्टाभित्रमा विषको असर देखा पर्ने भएकाले समयमै अस्पताल पुर्याउन सकेमा बचाउन सकिने डा.पौडेलले बताए । भरतपुर अस्पतालमा मात्रै वार्षिक चारसयदेखि पाँचसयसम्म बिरामी आउने गरेकामा एक सय ५० देखि २०० जनालाई विषालु सर्पले टोक्ने गरेको उनले बताए ।
सातवर्षअघि सर्पदंशको समयमै उपचार गर्न नसक्दा श्रीमती गुमाउनु भएका भरतपुर महानगरपालिका– ८ का धर्म कार्कीले सर्पले टोक्दा एम्बुलेन्स नपर्खिकन जेजस्तो साधन छ, त्यसमा राखेर सर्पदंशकै उपचार हुने अस्पताल पुर्याउन सके बचाउन सकिने बताउँछन् । श्रीमतीको मृत्युपछि उनले सर्पको टोकाइबाट अकालमा कोही मर्न नपरोस् भन्दै सचेतना अभियान सञ्चालन गर्दै आएका छन् ।रासस
प्रतिक्रिया दिनुहोस्