७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


डा. गोविन्द केसीलाई गिरफ्तार गरिएको छैन : गृहमन्त्री


0
Shares

काठमाडौं, असार २० । गृहमन्त्री रामबहादुर थापाले डा. गोविन्द केसीलाई प्रहरीले गिरफ्तार नगरेको र विरोध गर्न पनि रोक नलगाएको दाबी गरेका छन् ।

जुम्लामा अनशनरत् डा. केसी र वीर अस्पतालमा अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्थाबारे जानकारी माग्दै नेपाली कांग्रेसले बुधबार राष्ट्रियसभाको बैठक अवरोध गरेपछि जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।

अनशनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको उनको तर्क थियो ।

गृहमन्त्री थापाले लोकतन्त्रको नाममा जहाँ पनि विरोध प्रदर्शन र अनशन बस्न नपाइने बताए ।

अतिसंवेदनशील स्थानमा विरोध प्रदर्शन गर्दा अस्तव्यस्त हुने भएकाले निषेधित क्षेत्र तोक्नुपर्ने अवस्था आएको गृहमन्त्री थापाको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबार राष्ट्रियसभाको बैठक दुईपटक अवरोध गरेको थियो ।

पहिलोपटक गंगामाया अधिकारी र डा. गोविन्द केसीको अवस्थाबारे जानकारी माग्दै र दोस्रोपटक विनियोजन विधेयकमाथिको छलफलकाक्रममा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै अवरोध गरेको थियो ।