Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सत्तारुढ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल


0
Shares

                                                                                       फाइल फोटो

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन विधेयकका सम्बन्धमा सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीचमा भएको छलफल र बदलिँदो परिस्थितिकाबारेमा कुराकानी भएको थियो ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पक्षसँग भएको छलफल र प्रगतिकाबारेमा शीर्ष नेतालाई जानकारी गराएका थिए ।

शुक्रबार भएको सर्वदलीय बैठक एवं त्यसपछिका अनौपचारिक एवं औपचारिक बैठकको प्रगतिकाबारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

संविधान संशोधनका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भएको छलफलकाबारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए ।

सबै दललाई विश्वासमा लिएर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सत्तारुढ दल एक भएर अगाडि बढ्ने निष्कर्ष बैठकले निकालेको र बहस तथा छलफललाई थप घनीभूत बनाउन दुबै दल लाग्ने र अरु दललाईसमेत विश्वासमा लिने निर्णय भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीसँगको छलफललगत्तै भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारीलगायतका विषयमा कुराकानी भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थिति रहेको थियो । रासस