२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकार र प्रमुख प्रतिपक्षी दलबीच दूरी बढ्यो, के भन्छन् नेता ? (भिडियो)


0
Shares

सरोज अधिकारी/भरत केसी (इमेज)

काठमाडौं, असार २० । सरकार र प्रमुख प्रतिपक्षी दलबीच दूरी बढ्दै गएको छ ।

चिकित्सा शिक्षा विधेयक, संसदीय समितिको नेतृत्व, सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्नेलगायतका विषयमा सत्तापक्ष र विपक्षीबीच मतभिन्नता हुँदा दूरी बढ्दै गएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहयोग गरेर सुरुका दिनमा सत्तारुढ दलसँग मिलेर समृद्ध मुलुक निर्माणमा लाग्ने संकेत दिएको थियो । तर, बजेट छलफलसम्म आइपुग्दा–नपुग्दै त्यो विश्वास टुट्यो ।

विशेषगरी दुई दल एकले अर्कालाई गाली गर्न समय खर्चन थाले । अझ पछिल्लो हप्ता सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक अघि बढाएपछि सरकार र विपक्षी कांग्रेसबीच दूरी झन् बढेको छ । 

कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशमा रहेको व्यवस्थालाई नै प्रतिस्थापन विधेयकमा समावेश गराउनुपर्ने कांग्रेसको मागमा सत्तारुढ दल तयार नभएपछि सरकार र कांग्रेसबीच दूरी बढेको हो ।

सोही विधेयकको व्यवस्थालाई लिएर डा. गोविन्द केसी अनशनमा छन् । अनशनरत् डा. केसीका मागलाई समर्थन गरेपछि सत्तारुढ दल पनि कांग्रेससँग बिच्किएको छ ।

सभामुख र उपसभामुख अलग पार्टीको हुने संवैधानिक व्यवस्थाको कार्यान्वयन नभएको, संसदीय समितिको नेतृत्व, एकपछि अर्को गर्दै लोकतन्त्रका आधार मानिने स्वतन्त्रतामा प्रतिबन्ध लगाउने प्रयास, गंगामाया अधिकारीका मागमा सत्तारुढ दलको नजरअन्दाज र बढ्दो मूल्यवृद्धिलगायतका कुराले आफूहरुको सत्तारुढ दलसँगको सम्बन्ध बिग्रँदै गएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण जनता नै सत्तारुढ दलसँग टाढिँदै जाँदा आफूहरु नजिकिएर पनि केही नहुने बताउँछन् ।

सरकारले गर्न लायक र संविधानसम्मत् एउटा पनि काम नगरेकाले विरोधमा उत्रनुपरेको खाँणको भनाइ छ ।

सत्तारुढ दलले भने कांग्रेसको असन्तुष्टि र आक्रोशलाई कुन्ठामात्र ठानेको छ ।

सरकारको लोकप्रियताबाट डराएर विपक्षी दलले विरोधका लागि विरोधमात्र गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ठहर छ ।

संसदीय समितिमा धेरै नेतृत्व खोज्नका लागि अनावश्यक विषय अघि सारेर ‘बार्गेनिङ’ गर्न खोजेको बताउँछन्, नेकपाका नेता खगराज अधिकारी ।

पछिल्ला दिनमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी कांग्रेसबीच दूरी बढ्दै जाँदा संघीयता कार्यान्वयनमासमेत समस्यापर्ने संकेत देखिएका छन् ।

भिडियो हेर्नुहोस्