२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन माग


0
Shares

काठमाडौं, असार २० । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिने अधिकांश सांसदले बाढी–पहिरो, डा गोविन्द केसी र गंगामाया अधिकारीको अनशन तथा नेपाली सेनाभित्रको अनियमिताकाबारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद बिमलकुमार श्रीवास्तवले तराईलगायत मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिबारे जानकारी गराउन सरकारसँग माग गरे ।

सांसद बिमला नेपालीले प्राकृतिक प्रकोपका घटनाबाटपीडित जनतालाई राहत पुर्‍याउन सरकारलाई सुझाव दिइन् ।

सांसद भरतकुमार साहले अनशनरत् गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद भवानीप्रसाद खापुङले तेह्रथुम–वसन्तपुर सडकखन्ड पहिरोले अवरोध हुँदा आवत–जावतमा समस्या भएकाले यसको तत्काल सुधार गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

सांसद महेश बस्नेतले ‘नेपाली सेनाभित्र सामान खरिद तथा बन्दोबस्तीका सामान र विकास निर्माणमा भएको भनिएको अनियमितताबारे सरकारले आवश्यक छानबिन गरोस्’–भने ।

सांसद महेश गहतराजले ‘वर्षासँग आएको बाढी–पहिरोमा परी मुलुकका विभिन्न स्थानमा १७ जनाको मृत्यु भएको सूचना प्राप्त भएकाले यसबारे सरकारबाट जानकारी आओस्’–भने ।

सांसद मीनबहादुर विश्वकर्माले सुनसरीका विभिन्न सडक सुधार र स्तरोन्नति गर्न माग गरे ।

सांसद मोहन बानियाँले वर्षाले कर्णालीका विभिन्न सडक, पुल–पुलेसा र स्थानीय जनजीवनमा असर पुगेको भन्दै प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बेलैमा ध्यान पुर्‍याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले संघीय प्रहरी ऐन बन्दै गरेको सन्दर्भमा प्रदेश नम्बर–२ ले छुट्टै प्रहरी ऐन बनाउन लागेकोमा आपत्ति जनाए ।

सांसद योगेश भट्टराईले ताप्लेजुङका अधिकांश सरकारी कार्यालय हटाउने भन्ने समाचार सन्चारमाध्यममा आएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै हालका सबै कार्यालय निर्वाधरुपमा सन्चालन गरिनुपर्नेमा जोड दिए ।

सांसद रंगमती शाहीले मानसरोवर यात्राका अलपत्र तीर्थयात्रीको प्रभावकारी उद्धारमा सक्रियता जनाउन आग्रह गरिन् ।

सांसदद्वय राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले अनशनरत् चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरे । रासस