मुलुक अब कता जान्छ ? खुल्दुलीको शुरुआत « Image Khabar


मुलुक अब कता जान्छ ? खुल्दुलीको शुरुआत


Imagekhabar
१० जेष्ठ २०७४, बुधबार ११:०५

गाउँपालिकामा बसेर भोट दिने जनतालाई पनि गाउँ ठाउँबाट झन्झटरहित विविध सेवासुविधा दिन सकिन्छ कि सकिन्न भन्ने अहिलेको यक्ष प्रश्न हो ।

जनता सिंहदरबार गाउँमा आएको हेर्न चाहन्छन् । सकसहीन विकास चाहन्छन् । अब मुलुक रक्तरञ्जित क्रान्तिबाट होइन हरित र विकासे क्रान्तिबाट अघि बढ्नु पर्छ । मेची–कालीका सचेत जनता यही कामना गर्दैछन् । कम्तिमा आफ्नै जीवनकालमा विकास भोगेर मर्न पाइयोस् ।

बीस वर्ष भनेको एक युग हो । हुन त ‘बाह्र वर्ष मै खोलो फर्कन्छ’ भन्ने गर्छन् बूढापाकाहरु– अझै गाउँघरमा । चुनावले समाजका धेरै अवयव र अर्थतन्त्रलाई चलायमान गरेको छ । ठूलासाना व्यापारीले राजनीतिक पार्टीलाई दिएका चन्दा नै केही समयपछि जनताका ढाडमा महँगी बनेर आउने छन्– भाउ बिक्रीहरु । बेसाहा झन्झन् अक्कासिँदै जाँदो छ । लोककल्याणकारी शासनको स्थापना र जनताका कामहरु बेरोकटोक गाउँबाटै हुन थाले भने त चुनावको सार्थकता होला । नत्र जनताले हिजोजस्तो गाउँ विकास समितिका सचिवहरु खोज्न सहरबजार र तिनीहरुका कोठाचोटाहरुमा चहार्नु पर्ने स्थिति निर्वाचित मेयर, उपमेयर र वडा अध्यक्षलाई खोज्न फेरि सहरबजार नै चहार्नु पर्ने भयो भने चुनावको माने महत्व स्वतः घट्छ । आसा गरौं, अब त्यस्तो नहोला ।

यो चुनावले ‘सर्वदलीय संयन्त्रमा रहेर पार्टीहरुबाट हुने सर्वदलीय भ्रष्टाचार’को अन्त्य गरेको छ । जित्नेहरु मै हूँ भन्ने र हार्नेहरु जनताका बीच जानै छोडे भने त्यसको सकारात्मक सन्देश जनतामा पक्कै जाँदैन । अब विकासका अनेक याम र आयामहरु खुल्नु पर्छ । जनताका घरदैलामै प्रगतिका फूलहरु फुल्नु पर्छ । काठमाडौंमा विवेकशील नेपालीकी मेयर उम्मेदवार रञ्जु दर्शनाको उल्लेख्य मतसंख्या देख्दा अहिले अनेक कोणप्रतिकोणबाट चुनावी विश्लेषणका अफवाहहरु फैलाउन थालिएका छन् । कांग्रेसको भोट काटेर साझा र विवेकशीलले कतै भित्री रुपमा एमालेसँग चुनावी साँठगाँठ त गरेका थिएनन् ? तर्कमा दम नभए पनि झिनो शंका गर्न सकिन्छ । ललितपुर महानगरपालिकामा कांग्रेसले झिनो मत अन्तरले एमालेलाई जितेको छ । यस्तो स्थिति अब प्रकाशित हुने भरतपुर, पोखरा र काठमाडौँ महानगरपालिकाको मत परिणाममा नहोला । बाकसमा भएका मतलाई ‘अन्डर इस्टिमेट’ पनि गर्नु भएन ।

चुनाव हुन रोक्ने जनता थिएनन्, नेता थिए । यहाँ सबै पार्टीका नेता दोषी छन् । अहिले तिनै नेताका चाहनाअनुसार चुनाव सम्पन्न भएको छ । जनताको उत्साहजनक सहभागिता देखियो । यो चुनावमा निर्वाचन आयोग असक्षम पाइएको छ । भोट गन्ने शैली पारम्परिक हुनु, एकै चरणमा चुनाव गर्न नसक्नु, विभिन्न प्रकारका झमेलाका कारण निर्वाचनलाई आधुनिकीकरण गर्न नसक्नु निर्वाचन आयोगमा बसेर भत्ता पकाउने राजनीतिक नियुक्ति पाउने र त्यहाँका ठालु कर्मचारीहरुले बुझ्ने कुरा हो । विश्वमा आएका र चलेका विज्ञान प्रदत्त वैज्ञानिक प्रविधिलाई हामीले यो चुनावमा भित्र्याउन सकेनौं । इभिएमकै नमुना प्रयोग गर्न सकिन्थ्यो । राइट टु रिजेक्टको कोलम राखेर जनतालाई मतपत्रमा भएका कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने सुविधा दिन सकिन्थ्यो तर त्यो भएन । मत गणनामा पनि सारै अल्छी पारा देखायो– निर्वाचन आयोगले । यी कुरालाई लेसनका रुपमा लिएर अब हुने कुनै पनि निर्वाचनमा निर्वाचन आयोग जान सक्यो भने जनताले विश्वास गर्ने ठाउँ रहन्छ ।

प्रविधिमैत्री हुनु त सबैलाई छ । अहिले शपथ ग्रहण गरेका अधिकांश जनप्रतिनिधि बस्ने गाउँपालिका र नगरपालिकाका भवन छैनन् । कसैले गाउँपालिकाका आँगनमा शपथ गरे भने कसैले भाडाका घरमा गरेका छन् । अब संविधान कार्यान्वयनका सिलसिलामा सरकारले स्थानीय तहलाई आवश्यक जनशक्ति, बजेट र प्रविधि हस्तान्तरण गर्न सक्नु पर्छ । जमाना दौडिएको छ तर नेपालीहरु हिँड्न पनि अबेर गर्दै छन् । नेपालको कायापलट गर्न सक्ने पर्यटन उद्योग हो । यो कुरा नयाँ चुनिएर आएका प्रतिनिधिले बुझ्नु पर्‍यो । तिनीहरुलाई प्रक्रियाका माखे साङ्लोमा घुमाएर होइन सजिलो बाटो देखाइदिएर कर्मचारीहरुले पनि देश अघि लैजान भरथेग र सहयोग गर्नु पर्‍यो । स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षले तिनीहरुको ऊर्जा र उमेर अनुसारको काम दिन र लिन सक्नु पर्‍यो । यो एक कार्यकाल स्थानीय तहको जग बसाउँदै बित्छ अनि दोस्रो चरणमा आउने प्रतिनिधिले विकासका खाकाहरु कोर्न सक्छन् ।

विकास भनेको रिले प्रक्रिया हो । तराईमा मधेशवादीलाई फकाउन सरकारले २२ वटा स्थानीय तह थप गरेको र त्यसैभित्र वीरगञ्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ । स्रोत र साधनको सही सदुपयोग गर्दै अब अगाडि जाने हो भने ६ वटा महानगरपालिकाका बीचमा सकारात्मक र विकासको प्रतिस्पर्धा हुनु पर्छ । त्यस्तै गाउँपालिका र अन्य नगरपालिकामा समेत हुनु पर्छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात, कुटिर उद्योग र पर्यटन उद्योगले नै नेपालको अबको विकासे यात्रालाई फराकिलो पार्न सक्छ । नेपालीले विश्व चहारेर धेरै सिके, देखे, जाने र बुझे । नेपालमै रहेर पनि महावीर पुन, डा.गोविन्द केसी, सेन्दुक रुइत, रञ्जु दर्शना, रवीन्द्र मिश्र, पारश खड्का, अमृत गुरुङ, किशोर नेपाल, कुलमान घिसिङ्, गगन थापा, डा.भगवान् कोइराला, सर्वेन्द्र खनाल, सीताराम हाछेथु, चैतन्य मिश्र, नारायण वाग्ले, पशुपति शर्मा, मिनबहादुर भाम, धुर्मुस–सुन्तली, महजोडी र लालबाबु पण्डितजस्ता अनेकानेक क्षेत्रका असल मानिसले आसाका किरण छरेका छन् । नेपाललाई कसरी अघि लैजान सकिन्छ भनेर ती र तीहरु अहोरात्र आआफ्ना क्षेत्रमा क्रियाशील रहेका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रका विकल्पका रुपमा विवेकशील, नयाँ शक्ति र साझा पार्टीहरु आउनु पर्ने हो तर यसपालीको चुनावले त्यो देखाएन । हिन्दीको उखानझैँ ‘देर आए लेकिन दुरुस्त आए’ भनेझैँ अर्को चुनावमा ती पार्टीहरुले सांगठानिक विकास गरेर जनताका मनमनमा स्थान पाउन सकेमा तीन ठूला दलका विकल्प पनि सहरबजार र चेतनीशल भोटर भएका ठाउँबाट सुरुआत हुन सक्छन् । दुःखको कुरो पुराना दलको विकल्प पनि पुरानै दललाई चुनेर जनताले अहिलेलाई विकल्प छैन भनेका छन् । समाज बिस्तारै बद्लिने हो । हार्ने र थोरै मत ल्याउनेले अझ परिष्कृत र पारदर्शी भएर लाग्नु पर्‍यो । भोलि तिनीहरु कै हो ।

प्रतिक्रिया दिनुहोस्