८ जेष्ठ २०८२, बिहिबार | Fri May 23 2025


दिनभरि भोकै बसेर कसरी भोट हाल्ने ?


0
Shares

मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आइतबारदेखि सुरु हुँदै छ ।

एक महिनासम्म दिनभर व्रत बसेर मुस्लिम समुदायले यो पर्व मनाउँछन् । यो समयमा उनीहरूले बिहान सूर्य उदाएपछि साँझ सूर्यास्त नहुँदासम्म मुखमा पानीसमेत हाल्दैनन् ।

‘यो निकै कठोर एवं हाम्रो समुदायको पवित्र पर्व हो । बिहानदेखि सूर्य नअस्ताउँदासम्म पानीसमेत नखाएर व्रत बस्नुपर्छ, धार्मिक नियम निकै कडा हुन्छ । त्यसमा पनि हाम्रो समुदायमा अझै कडाइ हुन्छ’, नेपालगन्जका व्यवसायी अब्दुल वाहिद मन्सुरीले भन्नुभयो,‘एकातिर देशमा चुनावको पर्व आएको छ, अर्कोतिर समुदायको यति ठूलो पर्व छ ।’

मुस्लिम समुदायले भोट नहालेरै भए पनि रमजान भने मनाउँछन् । व्रत तोड्नु भनेको यो समुदायका लागि एक ठूलो अपराधजस्तै मानिन्छ ।

२० वर्षपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा छ । ‘हामी चुनावमा सहभागी हुन चाहन्छौं तर दिनभरि भोकै बसेर हामी कसरी भोट गर्न सक्छौं ? त्यसमाथि अझ महिला अनि वृद्धवृद्धालाई झनै गाह्रो हुन्छ,’ नेपालगन्ज १४ का डा. मोहम्मद आरिफ खानले भन्नुभयो, ुत्यसका लागि सरकार र निर्वाचन आयोगले केही सजिलो व्यवस्था गरिदिए राम्रो हुने थियो ।’

देशको सबैभन्दा गर्मी हुने ठाउँ हो, बाँके । दिनभरि पानीसमेत नखाएर व्रत बस्ने भएका कारण घन्टौं लाइनमा बसेर भोट हाल्न गाह्रो हुने उनी बताउँछन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार मुस्लिमको जनसंख्या देशभर करिब ११ लाख ६४ हजार छ । त्यसमध्ये ११ लाख ७ हजारभन्दा बढीको (करिब ९५ प्रतिशत) बसोबास तराईका जिल्लामा छ ।

दोस्रो चरणमा १, २, ५ र ७ नं प्रदेशमा चुनाव हुँदै छ । दोस्रो चरणको चुनावको प्रक्रिया र प्रचारप्रसार जोडतोडका साथ हुने समयमै मुस्लिम समुदायको पर्व रमजान सुरु हुँदै छ ।

बिहान ४ देखि साँझको सात बजेसम्म पानीसमेत नखाएर बस्ने कठोर व्रतबीच मुस्लिम समुदायका मतदातालाई चुनावमा भोट खसाल्न जानु कम्ता जोखिम छैन । -अन्नपूर्ण पोष्ट दैनिकबाट