
चित्रसहितको सो कृतिमा प्रस्तर मूर्तिकला माटाका मूर्ति, हाड र हस्तिहाडका मूर्ति, काठका मूर्ति, धातुका मूर्ति, चित्रकला, धातु मूर्ति निर्माण विधि, ध्यानी बुद्धका लक्षण, ध्यानी बुद्धका पञ्चस्कन्ध र पञ्चज्ञान, उदाहरणीय मूर्ति र चित्रलगायत विषयमा अनुसन्धानगरी लेखिएको छ ।
लेखकले करिब पाँच दशक पहिले संकलन गरेका सामग्रीलाई अहिले समाजसेवी रामलाल श्रेष्ठको सहयोगमा प्रकाशन गरिएको हो ।
सोमबार (आज) आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सो कृतिको विमोचन गर्दै कृति कलासम्बन्धी पुस्तकमा आधिकारिक भएको बताए ।
नेपालका प्राचीन कला, संस्कृतिका विशेषताले अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान बनाएकाले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले हराउँदै गएको प्रस्तरकलाको महत्वबढाउनका लागि कृति उपयोगी हुने विश्वास व्यक्त गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले जोशी जीवित मानव सभ्यताको प्रतीक भएको बताउँदै उनको प्रकाशित हुन बाँकी कृति छाप्न मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
पत्रकार कनकमणि दिक्षीतले जोशी काठमाडौं उपत्यका, नेपाल र दक्षिण एसियाका जुहारत भएको विचार व्यक्त गर्दै उनको विविध संस्कृतिप्रति अनुभवलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्नेमा जोड दिए ।
प्रा.अभि सुवेदी, प्रा.डा.मुकुन्द अर्याल, कला समीक्षक मदन चित्रकार, मूर्तिकार ठाकुरप्रसाद मैनाली, नेपाल कला परिषद्का महासचिव शंकरनाथ रिमाल, समालोचक महेश पौडेल, चित्रकार शान्तकुमार राईलगायतले ललितकलाभित्रका सबै विधा समेटिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विचार व्यक्त गरे ।
लेखक जोशीले स्वदेशी कलालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउनुपर्नेमा जोड दिए । लेखक जोशीका ‘हाम्रो लोक संस्कृति’ विसं २०१४, ‘नेपाली राष्ट्रिय मुद्रा’ विसं २०१८ र ‘कर्णाली लोक संस्कृति’ विसं २०२८ मा प्रकाशित पुस्तकले मदन पुरस्कार प्राप्त गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्