२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्दछन् किशोरकिशोरी


0
Shares

बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।

क्लिनिकले त्यस क्षेत्रका विद्यालय, कलेजलगायतका शैक्षिक संस्थामा पढ्ने १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सहज र सरल रुपमा जानकारी दिन थालेपछि उनीहरुले यसबारे खुलेरै कुरा गर्न थालेको क्लिनिकका परामर्शदाता शान्ता थापाले बताए ।

अस्पताल परिसरमै सुरक्षित र सुविधा सम्पन्न त्यस क्लिनिकले किशोरकिशोरीलाई किशोरावस्थामा आइपर्ने समस्या, चुनौतीलगायतका प्रत्येक कुराबारेमा परामर्श दिनुका साथै परिवार नियोजन, यौन, एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य, पोषण, सुरक्षित गर्भपतन, मेडिकल र स्वास्थ्य शिक्षा तथा सञ्चारलगायतका सेवा निरन्तर रुपमा प्रदान गरिरहेका छन् ।
विगत चार वर्षदेखि निरन्तर रुपमा सञ्चालित सो क्लिनिकमा त्यस क्षेत्रका किशोरकिशारीलाई विभिन्न स्वास्थ्य सेवा दिनुका साथै अन्य उमेर समूहका युवायुवती तथा महिला पुरुषलाई पनि सुरक्षित यौन व्यवहारका कुरा सिकाउनु र सुरक्षित यौन सम्पर्कका साधन वितरण गरिने गरिएको बर्दिवास अस्पताल प्रमुख डा.विधानचन्द्र झाले बताए ।
यसैगरी, क्लिनिकले यस क्षेत्रमा यौन हिंसा, जबरर्जस्ती करणी र आकस्मिक रुपमा यौन दुराचारमा परेकालाई पनि उचित परामर्श र गर्भपतनसम्मको सेवा प्रदान गर्ने गरिएको देखिएको छ ।

युएनएफपीएको आर्थिक एवम् प्राविधिक सहयोगमा निरन्तर रुपमा सञ्चालित सो क्लिनिक त्यस क्षेत्रका किशोर किशोरीका लागि निक्कै उपायोगी सावित भएको स्थानीय किशोर सनी महतोले बताए । रासस