२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तलव दिन नसकेपछि पारस खड्कासहित सशस्त्र प्रहरीका ५० खेलाडीको करार रद्द


0
Shares

खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो ।

आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए । प्रायोजक नपाएको र अन्य स्रोत पनि नभएपछि तलब दिन नसकिएको उनको भनाइ छ ।

सशस्त्रले क्रिकेटर पारस खड्कासहित देशका चर्चित खेलाडीलाई मासिक तलब दिएर आफ्नो विभागीय क्लबमा अनुबन्धित गरेको थियो ।

कल्याण कोषको रकम चलाउन नपाएपछि सम्झौता रद्द

स्रोतका अनुसार विगतमा कल्याण कोषबाट सशस्त्र प्रहरीले खेलाडीलाई आकर्षक तलब खुवाउँदै आएको थियो । तर, कल्याण कोषको खर्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट नियमन हुन थालेपछि सशस्त्रले कोषबाट बजेट मिलाउन नसकेको हो । सोही कारण खेलाडीको सम्झौता नै रद्द गर्न परेको स्रोतले जनाएको छ ।

मासिक तलब नै दिएर खेलाडीलाई अनुबन्धित गरेपछि सशस्त्रको खेलकुद टिम बलियो भएको थियो । पुरुष र महिलाका क्रिकेट र फुटबल टिममा चर्चित खेलाडीलाई सशस्त्रले अनुबन्धित गरेको थियो । सम्झौता रद्द भएपछि टिम कमजोर हुने सशस्त्रको चिन्ता छ ।

क–कसको सम्झौता रद्द भयो ?

सुशीलनरसिंह राणा, दीपक श्रेष्ठ, प्रकाश थपलिया, विश्व श्रेष्ठ, रमेश डंगोल, अञ्जन विष्ट, राजु योगी, मनमाया लिम्बू, अञ्जली योञ्जन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, पुथु बा“स्कोटा, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, अनिल शाह, अभिषेक बोहरा, निरा राजोपाध्याय, ऋतु कनौजिया, सोनु खड्का, इन्दु बर्मा, ममता चौधरी, पुष्पा भण्डारी, सरस्वती चौधरी, शिक्षा श्रेष्ठ, विजय थापा, जयन्त अवस्थी, टेकराज अवस्थी, चन्दन शाही, शिवसुन्दर गोथे, सरु लिम्बू, रेखा पौडेल, सुशीलासिंह ठकुरी, मुकुन्द महर्जन, अमरलाल मल्ल, रूपक नेपाली, विनिता राई, युवराज थापा, सुस्मिता तामाङलगायत ।

सम्झौता रद्द भए पनि सशस्त्रबाटै खेल्दै

करार सम्झौता रद्द भए पनि खेलाडीले सशस्त्र प्रहरीकै टिमबाट खेलिरहेको प्रवक्ता केसीले बताए । आर्थिक स्रोत जुटेमा उनीहरूलाई फेरि करार सम्झौता गरिने उनको भनाइ छ । करार सम्झौता रद्द भएसँगै पुरस्कार रकमबाट खेलकुद कोषमा पैसा नकाटिने भएको छ । यसअघि पुरस्कारको ३० प्रतिशत खेलकुद कोषमा पैसा कटौती हुने गरेको थियो । –नयाँ पत्रिका दैनिकबाट