२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपालमा मनसुन सामान्यभन्दा चाँडै, भोलि र पर्सी ठूलो वर्षा हुने


0
Shares

सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन अगाडि सुरु हुने प्रणाली विकास भएकोे मौसमविद् सुवास रिमालले राससलाई जानकारी दिए ।

‘जुन १० बाट सुरु हुनुपर्ने मनसुन नेपालमा केही चाँडो आउने देखिएको छ’–उनले भने ।

सामान्यतयाः १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यसवर्ष भने नेपालमा मनसुन चाँडो हुने देखिएको हो ।

दक्षिण एसियामा, मनसुन बंगालको खाडी हुँदै उत्तर पूर्वतिर अगाडि बढ्ने गर्छ । हालसम्मको मौसमी नक्सा तथा भू–उपग्रहको चित्रबाट प्राप्त सूचनाका आधारमा पूर्वी र मध्य बंगालको खाडीमा तथा बंगलादेशको मध्य भागसम्म मनसुन विकसित भइसकेको हुँदा, नेपालमा मनसुन केही दिन अगाडि भित्रिने अनुमान महाशाखाले गरेको छ ।

पूर्व मनसुन र मनसुनको संघारमा रहेकाले नेपालमा अहिले मौसम बदलीसँगै वर्षात् गराएको मौसमविद् रिमालको भनाइ छ ।

यसका साथै बंगालको खाडीबाट सतही रुपमा आइरहेको जलवास्पयुक्त हावा तथा भारतको विहार आसपासमा न्यूनचापीय प्रणाली विकास भएकाले त्यसको असरस्वरुप नेपालका धेरै स्थानमा बदली भएको छ ।

योसँगै मनसुन रेखापनि स्थापित हुँदै गरेकाले बदली र वर्षात् गराएको हो । देशभरि नै वर्षात् गराउने प्रणाली विकास भएकाले मंगलबार र बुधबार सामान्यभन्दा ठूलो वर्षात् हुने र देशका धेरै स्थानमा बदली रहने मौसमविद् रिमालले बताए ।

आइतबार वर्षकै बढी गर्मी महसुस

यसैबीच, वर्षात् गराउने प्रणाली विकसित नहुँदा राजधानी उपत्यकासहित मुलुकभर अत्यधिक तापक्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार उपत्यकामा आइतबार यो वर्षकै बढी तापक्रम ३२ डिग्री सेल्सियस पुगेको छ । तापक्रम बढेपछि वर्षकै बढी गर्मी महसुस गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले सोमबार (आज) बिहान ८ः४५ मा राखेको विवरणअनुसार काठमाडौंको अधिकतम तापक्रम ३२ र न्यूनतम २१ डिग्री सेल्सियस रहेको छ । देशका अधिकांश भेगमा बदली भएकाले आजको तापक्रम २९ देखि ३० को हाराहारीमा पुग्ने अनुमान महाशाखाको छ ।

महाशाखाका अनुसार सोमबार (आज) देशका धेरै स्थानमा बदली भएको छ । अहिले पूर्वी पहाडी र मध्यका उपत्यकासहितका क्षेत्रमा वर्षात् भइरहेको छ ।