
एम्नेस्टी इन्टरनेसनलले मंगलबार काठमाडौंमा सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सरकारको फितलो अनुगमनका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको समस्या समाधान हुन नसकेको निश्कर्ष निकालिएको छ ।
प्रतिवेदनले आप्रवासी श्रमिकहरुलाई खरिद–बिक्री गर्न नहुने र उनीहरुको जीवनमाथि कसैले नियन्त्रण गर्न नहुने निश्कर्ष निकालेको छ ।
एम्नेस्टीले सरकारले वैदेशीक रोजगारका लागि ल्याएको निःशुल्क भिसा र निःशुल्क टिकटको नीति कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुईकेलले नेपाल सरकार, गन्तव्य मुलुकका सरकार र व्यवसायीहरुलाई सुधारका लागि यसअघि पनि यस्तै प्रतिवेदनमार्फत् विभिन्न सिफारिस गरिएकामा कार्यान्वयन नभएको गुनासो गरे ।
उनले मुलुकको अर्थतन्त्र धान्ने यस क्षेत्रमा भइरहेको ठगी र शोषणको अन्त्य गर्ने दिशामा सरकारले निडर भएर कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।
खाडीका विभिन्न मुलुक, मलेसिया, दक्षिण कोरियाजस्ता नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमा हुने गरेको जोखिमयुक्त श्रम र नेपाली श्रमिकले व्यहोर्दै आएको पक्षकाबारेमा एम्नेष्टीले पटक–पटक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्