२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ट्राफिक नियम मिच्नेलाई कडा कारवाही गर्न संसदीय समितिको निर्देशन


0
Shares

सिंहदरवारमा शुक्रबार बसेको समितिको बैठकले जथाभावी बाटो काट्ने र नियम मिचेर सवारी चलाउनेलाई कडा कारवाही गर्न निर्देशन दिएको हो । नियमविपरित सवारी चलाउँदा दुर्घटना बढ्दै गइरहेको गुनासो बढ्न थालेपछि समितिले सरोकारवालाहरुसँग छलफल गरेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सवारी नियम मिच्नेलाइ दण्ड जरिवाना कम भएकाले सवारी दुर्घटनामा कमी नआएको बताए । उनले दण्डजरिवानालाई अझै बढाउन माग गरे ।

महानिरीक्षक अर्यालले दुर्घटना न्यूनिकरण गर्न दण्डजरिवाना बढाउनुपर्ने र सबैले ट्राफिक नियमलाई पालना गर्नुपर्ने बताए । अन्यथा ट्राफिकको प्रयासमात्र सफल नहुने उनको भनाइ थियो ।

समितिको बैठकमा सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सहरी सडक कस्तो हुन्छ भन्ने मापदण्ड नै नभएको बताउदै आवश्यकता अनुरुप सडकको विकास हुनुपर्नेमा जोड दिए ।

उनले बाटो काट्ने पैदलयात्रीका लागि सबैठाउँमा जेब्रा क्रसिङको व्यवस्था नभएकाले आवश्यक पर्ने ठाउँमा अविलम्व जेब्रा क्रसिङको व्यवस्था गर्न मन्त्रालयले सम्वन्धित निकायसँग छलफल गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागी समितिका सदस्यहरुले जरिवाना बढाएरमात्र सडक दुर्घटनामा कमी नहुने बताउदै यसका लागि नियमकानुनलाई कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिएका थिए ।

आर्थिक वर्ष २०७३/७४ मा मात्रै नियमविपरित सवारी चलाउने ६ लाख जनालाई कारवाही भएको ट्राफिक कार्यालयले जनाएको छ ।