२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बागलुङ बन्द फिर्ता


0
Shares

बेपत्ता युवकको खोजीको माग गर्दै पीडितपक्षले बिहीबारदेखि बागलुङ बजार बन्द गराएको थियो ।

अवैध लागुऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएपछि परिवार र आफन्तजनले आक्रोशित भएर बजार बन्द गराएका थिए ।

मंगलबार साँझ पर्वत–बागलुङको सीमास्थल मालढुंगाबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा कालीगन्डकी नदीतिर भागेका पुन अझै बेपत्ता छन् ।

सत्यतथ्य छानबिन, बेपत्ताको खोजी र दोषीमाथि कारबाहीको लागि प्रशासनलाई जिम्मेवार हुन माग गर्दै बन्द फिर्ता लिइएको संघर्ष समितिले जनाएको छ ।

समयमै माग पूरा नभए पुनः आन्दोलनमा जाने समितिका सदस्य नरेश कँडेलले बताए ।

बागलुङदेखि कुश्मा जाँदै गरेको ध१ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्दा लागुऔषधसहित भेटिएका पुनलाई पक्राउ गर्न खोज्दा उनी भागेको प्रहरीले जनाएको छ । पुनसँगै सवार अन्य दुई युवालाई भने प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा बानपा–१ का २८ वर्षीय दीपेन्द्र कार्की र ट्याक्सीचालक मकवानपुरका २४ वर्षीय भीमसेन लामा रहेका छन् ।

उनीहरुको साथबाट लागुऔषध डाइजेपाम तीन, नुर्फिन तीन, फेनार्गन चार एम्पुल, नाइट्रोजेपाम तीनथान र चारथान सुइ प्रहरीले बरामद गरेको थियो ।

भागेर नदी तर्नेक्रममा बीचमै बेपत्ता भएका भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजीमा प्रहरी जुटेको छ ।

पुन नदी किनारतिर दौडेर भागेको तर नदीमै हेलिएकोबारेमा केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

नदीले बगाएको आशंकामा पोखरादेखि आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले कालीगन्डकी नदीमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए । घटनाकोबारेमा थप छानबिन र अनुसन्धान भइरहेको पनि उनले बताए ।

बिहीबार पनि बागलुङबाटै लागुऔषधसहित भारतीय युवक दीपेन्द्र हरिजन पक्राउ परेका छन् ।

दुई दिनको अन्तरालमा पक्राउ परेका युवा अवैध लागुऔषधको ओसारपसार र बेचबिखनमा सक्रिय रहेको पाइएको प्रहरीले जनाएको छ । रासस