७ असार २०८२, शनिबार | Sat Jun 21 2025


कपिलवस्तुमा चुनावी माहोल तात्यो, दलहरु प्रचारमा व्यस्त


0
Shares

राजनीतिक दलहरुले उम्मेदवार घोषणा गर्न थालेपछि चुनावी माहोल तातिएको हो । नेकपा एमालेले यसअघि नै जिल्लाका १० स्थानीय तहमध्ये ९ वटामा उम्मेदवारको टुंगो लगाइसकेको छ भने नेपाली कांग्रेसले ४ नगरपालिकाका उम्मेदवार छिनोफानो गरिसकेको छ । माओवादी केन्द्रले ८ वटा तहमा उम्मेदवारको टुंगो लगाएको छ ।

उम्मेदवारको टुंगो लगाएसँगै दलहरुले प्रचार–प्रसार अभियानलाई तीब्रता दिएका छन् । बाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिका क्षेत्र चुनावमय बनेका छन् । उम्मेदवारले घरदैलो अभियानलाई तीब्रता दिएका छन् । केही दलहरुले एकल चुनाव जित्ने छाँट नदेखेपछि चुनावी तालमेलसमेत गरेका छन् ।

जिल्लाको सबैभन्दा बढी मतदाता रहेको बाणगंगा नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको छ । कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर लिने गरी चुनावी तालमेल भएको हो ।

उता राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा जाने कि चुनावमा जाने दोधारमा परेकाले जिल्लाका दक्षिणी क्षेत्रका मतदाता अन्योलमा छन् ।