Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


टिपर दुर्घटनामा दुईको मृत्यु


0
Shares

बनेपा, माघ २४ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा बुधबार साँझ ६ः३० बजेतिर जन्ती लिएर आएको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे छ । 

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ कठोरेबाट काभ्रेपलाञ्चोकको तेमालतर्फ बेहुली लिई आउँदै गरेको बा४ख ९४३८ नम्बरको टिपर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–२ कमेरेफाँटस्थित विपी राजमार्गमा अनियन्त्रित भई सडक छेउमा पल्टिँदा उक्त गाडीमा सवार तेमाल गाउँपालिका–९ का २२ वर्षीया कृष्णमाया माझी र सोही ठाउँका १६ वर्षीय चुनपाई लामाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते हुनेहरुमध्ये तेमाल गाउँपालिका–९ का १२ वर्षीय दिनेश तामाङ र सोही ठाउँका १२ वर्षीय नीरज माझीको अवस्था जटिल रहेकाले ट्रमा सेन्टरमा लगिएकोे र अन्य घाइतेमध्ये सात जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकीको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ । प्रहरीले टिपर चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ का ३७ वर्षीय खड्क माझीलाई नियन्त्रणमा लिई घटनाबारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । (रासस)