परमाणु युद्ध भएमा यस्तो बंकरमा बस्नेछन् अमेरिकी राष्ट्रपति (फोटो फिचर) « Image Khabar


परमाणु युद्ध भएमा यस्तो बंकरमा बस्नेछन् अमेरिकी राष्ट्रपति (फोटो फिचर)


Imagekhabar
१ असार २०७४, बिहीबार ०८:३२

विभिन्न मुलुक परमाणु हतियार सम्पन्न छन् । अमेरिका, रुस, चीन, उत्तर कोरियाका अतिरिक्त दक्षिण एसियाली मुलुक भारत र पाकिस्तान पनि परमाणु हतियार सम्पन्न छन् ।

परमाणु युद्धको अवस्था निम्तिएमा आफ्ना राष्ट्रपति लगायत नेताहरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारे अमेरिकाले विभिन्न विकल्पहरु तयार पारिसकेको छ ।

परमाणु बमले समेत कुनै असर नगर्ने त्यस्ता बंकरमा बसेर राष्ट्रपति, सेनाका उच्च अधिकारी लगायतले युद्धको रणनीति तयार पार्ने र निगरानी गर्न सक्ने जनाइएको छ । अत्याधुनिक सुविधासम्पन्न ती बंकर निकै योप्य राखिएका छन् ।

अमेरिकाको निर्माण क्षेत्रका विज्ञ गेरेठ ग्राफले न्यूयोर्क पोस्टलाई हालै दिएको एक अन्तरवार्तामा कोलाराडोस्थित एउटा बंकरको बारेमा प्रारम्भिक जानकारी दिएका छन् । उनका अनुसार माउन्टेन कम्प्लेक्समा निर्माण गरिएको सो बंकर सन् १९४८ मै तयार पारिएको हो ।

पहाडको ५० मिटर तल निर्माण गरिएको यो बंकर एक किलोमिटरको दायरामा फैलिएको छ । सो बंकरभित्र परमाणु हतियारदेखि लिएर सेनाको आधुनिक हतियार छ । हाइटेक सुविधा भएको उक्त बंकरमा स्वास्थ्योपचारको सुविधा पनि छ ।

यो बंकरभित्र करिब एक हजार चार सय मानिस कयौं महिनासम्म आरामले बस्ने सक्ने गरी बनाइएको थियो । सन् १९९१ मा यसलाई आधुनिकीकरण गर्दै आवश्यक परेको खण्डमा देशका राष्ट्रपति, नेताहरु र सेनाका उच्च अधिकारीहरुलाई राख्न सक्ने गरी यसको विकास गरिएको छ । हाल यसको क्षमता ५ हजार मानिस राख्न सक्ने गरी विकास गरिएको बताइन्छ ।

यस्तै बंकर भर्जिनियाको पहाडी क्षेत्रमा पनि बनाइएको छ । उक्त बंकरमा पनि राष्ट्रपति, मन्त्रीहरु, सेनाका उच्च अधिकारीहरु राख्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।

न्यूयोर्क पोस्ट कै रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ परिसर मै पनि आधुनिक बंकर बनाइएको छ । दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन राष्ट्रपति फ्रेंकलिन रुजवेल्टले ह्वाइट हाउसमा बंकर बनाउन लगाएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्