कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य « Image Khabar


कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य


Imagekhabar
१ असार २०७४, बिहीबार ११:४९

घाम लाग्दा पोल्छ, पानी पर्दा चुहिन्छ र हावाहुरी चल्दा त्रिपाल च्यातिने तथा उडाउने डर छ उनीहरुलाई बाँस र काठको भरमा त्रिपालको छेउछाउका टुप्पामा डोरी बाँधेर बनाइएको छानो कति बेला भत्कने हो थाहा छैन । पढ्ने समयमा कतिबेला छाना उडाइदिन्छ हावाले भन्ने मात्रै डर छ मनमा ।

हो, यस्तै समस्या भएको छ पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बुद्धि विकास माविमा अध्ययनरत विद्यार्थीलाई । उनीहरु कक्षाकोठाको अभावमा त्रिपालमुनि बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको भवन र कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको हुँदा उनीहरु त्रिपालको साहारा लिएर अध्ययन गर्दै आइरहेका छन् ।

गएको असोज महिनादेखि विद्यालयमा भवन निर्माणकार्य सुरु गरेपछि ३, ४, ५, ७ र ८ कक्षाका विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको हो । त्रिपालमुनि बसेर पढ्ने क्रममा पानी पर्दा चुहिने, घाम लाग्दा गर्मी हुने र हावाहुरी चल्दा त्रिपाल च्यातिने हुँदा पढाइमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

भवनको अभावमा पालमुनि बसेर अध्ययन गर्नुपर्ने बाध्यताको समाधान गर्नुपर्ने कक्षा ८ मा अध्ययनरत विद्यार्थी दीपक विकले बताए ।

पालमुनि बसेर पढ्दा आफूहरु जाडो र गर्मी समयमा धेरै समस्या भोग्नुपरेको अर्का विद्यार्थी पवित्रा पुनले बताए ।

जिल्ला शिक्षा कार्यालय म्याग्दीको रु साढे १३ लाख र ब्रिटिस गोर्खा वेलफेयर स्किमको रु एक करोड १० लाखको लागतमा आठ कोठे भूकम्प प्रतिरोधी भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको विद्यालयले जनाएको छ । भवन निर्माणले एक हप्ताभित्रै पूर्णता पाउने भएको हुँदा त्यसपछि विद्यार्थीको पढाइ व्यवस्थित गरिने विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताए ।

हाल उक्त विद्यालयमा ३७५ जना विद्यार्थी अध्ययनरत छन् भने व्यवस्थित खेलमैदान र दरबन्दीअनुसार शिक्षक नहुँदासमेत समस्या रहेको विद्यालयको भनाइ छ । (रासस)

प्रतिक्रिया दिनुहोस्