७ असार २०८२, शनिबार | Sat Jun 21 2025


प्रदेश नम्बर–२ मा निर्वाचन आचारसंहिता हटाउने आयोगको निर्णय


0
Shares

२ नम्बर प्रदेशका हकमा सम्बन्धित मन्त्रालयले नै सरुवा, बढुवा, नियुक्ति, काज, विदेश भ्रमणलगायतका विषयमा आवश्यक निर्णय लिनसक्ने गरी निर्वाचन आचारसंहितालाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यही असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर–१, ५ र ७ मा भने पूर्ववतरुपमा आचारसंहिता कायम रहेको उनले बताए ।

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह
यसैगरी, निर्वाचन आयोगले निर्वाचनका सन्दर्भमा राजनीतिक गतिविधि गर्दा बालबालिकाको प्रयोग नगर्न/नगराउन राजनीतिक दलसँग आग्रह गरेको छ ।

राजनीतिक दल तथा तिनका भ्रातृसंगठनबाट विभिन्न राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भएका आचारसंहिता उल्लंघनका जानकारी प्राप्त भएको जनाउँदै आयोगले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र आचारसंहिताको पूर्णपालना गर्न राजनीतिक दललाई पुनः आग्रह गरेको हो ।

आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाललाई बेग्लाबेग्लै पत्र पठाइ त्यस्तो आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसैबीच, निर्वाचन आयोगले बाजुरालगायतका जिल्लामा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग गरेको विषयवस्तुका सम्बन्धमा के–कसो भएको हो छानबिन गरी आवश्यक कारबाही गर्न र आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ आवश्यक पहलकदमी लिन सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । रासस