१० जेष्ठ २०८२, शनिबार | Sun May 25 2025


कतारमा नयाँ कामदारः ‘पर्ख र हेर’ को अवस्थामा


0
Shares

निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ ।

‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ । उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले कान्तिपुरलाई भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सुचना मात्रै दिइएको छ ।’ रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी पर्ख र हेरको अवस्थामा छन ।

जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गरेको छ । साउदी, युएई र बहराइनले जल, हवाई र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ ।

नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ ।

रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मात्रै कामदार ल्याउने सोचाईमा पुगेपछि कामदार भर्ना प्रक्रिया सुस्त भएको म्यानपावरको बुझाई छ ।

‘रोजगारदाता कम्पनी पछिल्लो कतारको अवस्थाबारे केही बताएको छैन्,’ पराजुलीले भने, ‘उनीहरु पर्ख र हेरको अबस्थामा छन् कि जस्तो लाग्छ ।’

कतारको बदलिदो अवस्थाले वैदेशिक रोजगारीमा जान खोज्ने नेपाली कामदार पनि अन्यौलमा छन् । ‘जुन २६ र जुलाई ५ तारिखको लागि अन्तर्वार्ता राखेको छु ।

एउटै कम्पनीको लागि तीनसय कामदार पठाउँदैछु,’ ओशो रिक्रुटिङ एजेन्सीका सञ्चालक लक्ष्मण विश्वकर्माले भने,‘जान इच्छुक कामदारको मनमा अलिअलि हिचकिचावट रहेको पाएँ ।’
-कान्तिपुर दैनिकबाट