Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


पाकिस्तानलाई २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि, भारत फराकिलो अन्तरले पराजित


0
Shares

पाकिस्तानले दिएको ३ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा भारत ३० दशमलव ३ ओभरमा १ सय ५८ रनमै समेटियो ।

यो जितसँगै पाकिस्तानले २५ वर्षपछि आइसिसीको महत्वपूर्ण उपाधि जितेको छ ।

सन् १९९२ मा इमरान खानको कप्तानीमा एक दिवसीय विश्वकपको उपाधि जिते यता पाकिस्तानले आइसीसीको ५० ओभरको कुनै पनि प्रतियोगिता जितेको थिएन ।

इङ्ल्यान्डको लण्डनस्थित द ओभलमा आइतबार टस हारेर पहिले व्याटिङ गरेको पाकिस्तानले शानदार ब्याटिङ गर्‍यो ।

भारत विरुद्ध पहिलो एक दिवसीय खेल खेलेका फाखर जमानले १ सय १४ रन बनाएपछि पाकिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३८ रन बनायो ।

उसका लागि अजहर अलीले ५९ रन, मोहोमद हफिजले अविजित ५७ रन तथा बाबकर आजमले ४६ रन बनाए ।

जवाफमा ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको भारतले ३१ औं ओभरमा अल आउट हुनुपुर्व १ सय ५८ रन मात्रै बनाउन सक्यो । भारतका लागि हार्दिक पाण्डेले सर्वाधिक ७६ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहोमद आमिर र हसन अलीले ३/३ विकेट लिए ।

आमिर टप अर्डरका ब्याट्सम्यानहरु रोहित शर्मा, विराट कोहली र शिखर धवनलाई पभेलियन फर्काउँदै पाकिस्तानलाई जितको बाटोमा लगेका हुन् ।

पाकिस्तानको यो जित आइसीसीले आयोजना गरेको प्रतियोगिताको फाइनलमा अहिलेसम्म कुनै पनि टिमले हात पारेको सर्वाधिक फराकिलो जित हो ।