च्याम्पियन्स ट्रफीका रुपमा पाकिस्तानका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका जमानले फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी भारतविरुद्ध शानदार ब्याटिङ गर्दै आफ्नो अलग पहिचान त बनाए नै, टिमलाई जितको बलियो आधार पनि निर्माण गरिदिए ।
उनले प्रतियोगिताको पहिलो म्याचमा दक्षिण अफ्रिकाविरुद्ध ३१ रन बनाएका थिए भने श्रीलंकाविरुद्ध ५० रन बनाएका थिए । सेमिफाइनलमा उनले इंग्ल्याण्डविरुद्ध ५७ रन बनाएका थिए ।

फाइनलमा भारतीय बलरहरुलाई उनले निर्मम प्रहार गरे । उनले १०६ बल सामना गर्दै ११४ रन बनाएका थिए । शतकीय पारी खेल्ने क्रममा उनले १२ चौका र तीन छक्का प्रहार गरे । १०७ भन्दा बढी स्ट्राइक रेटमा ब्याटिङ गर्ने क्रममा उनले भारतीय बलरहरुलाई खेलमा जम्ने मौका नै दिएनन् ।
जमानले भारतीय बलरद्वय भुवनेश्वर कुमार र हार्दिक पाण्ड्याबाहेक अन्यको बलमा एक सयभन्दा बढी स्ट्राइक रेटमा ब्याटिङ गरे । भुवनेश्वर कुमारको १७ बल सामना गर्दै उनले जम्मा ७ रन बनाएका थिए भने पाण्ड्याको १९ बलमा १५ रन बनाए ।
तर जसप्रित बुमराहको १४ बलमा १४ रन, रविचन्द्रन आश्विनको ३३ बलमा ४५, रविन्द्र जडेजाको २३ बलमा ३३ रन बटुल्दै उनले भारतलाई निरन्तर दबाबमा राखे ।

जमानका परिवारका सदस्यहरु उनी क्रिकेट खेलेको हेर्न चाहँदैन थिए । परिवारका सदस्यको चाहनामा नै उनले सरकारी जागिर खाने निधो गरेका थिए । उनी पाकिस्तानको नौसेनामा भर्ती भए । तर क्रिकेटप्रतिको आफ्नो लगावका कारण उनले त्यहाँ पनि क्रिकेट टिममा सहभागिता जनाए । नौसेनाको क्रिकेट टिमका प्रशिक्षक आजम खानले उनको प्रतीभा पहिचान गरिसकेका थिए, जसको मद्दतमा उनले क्रिकेटका विभिन्न कला सिके ।
सन् २०१३ मा उनले नौसेनाको जागिर छाडे । त्यसपछि पाकिस्तानी क्रिकेटर युनुस खानसँग उनको भेट भयो । युनुसकै सल्लाहमा जमानले घरेलु टिममा खेल्न थाले । मरदान, खैबर पख्वातुन, एबटाबाद, बलुचिस्तान लगायतका टिमबाट खेल्दै उनले क्रिकेटमा आफ्नो पहिचान बनाउने प्रयास गरे ।

सन् २०१६ मा उनले पाकिस्तान सुपर लिगमा खेल्ने मौका पाए । उक्त प्रतियोगितामा उनले सर्वाधिक रन बनाए । प्रतियोगितामा आक्रामक ब्याटिङ गरेका उनी सोही प्रदर्शनका कारण अर्को वर्ष पाकिस्तानको राष्ट्रिय टिममा छानिन सफल भए ।
राष्ट्रिय टिममा आफू चयन भएको अवसरलाई सदुपयोग गर्दै उनले च्याम्पियन्स ट्रफीको फाइनलमा शानदार ब्याटिङ गरे । उनको ब्याटिङका सामू भारतका बलरहरु निरीह त भए नै, दिग्गज ब्याट्सम्यानहरु रोहित शर्मा, विराट कोहली, शिखर धवन, महेन्द्र सिंह धोनी, युवराज सिंह लगायत निकै फिक्का भए । (एजेन्सी)





प्रतिक्रिया दिनुहोस्