४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


डा. केसीको समर्थनमा कर्णालीका चिकित्सकहरुद्वारा आकस्मिकबाहेकका सेवा ठप्प


0
Shares

कृष्ण बोहोरा (इमेज)

जुम्ला, असार १९ । जुम्लामा अनशनरत प्रा. डा. गोविन्द केसीका मागप्रति समर्थन जनाउँदै कर्णाली स्वास्थ्य प्रतिष्ठानसहित कर्णाली प्रदेशका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था असहज हुँदै गएपनि प्रशासनले अवरोध गरेको भन्दै स्थानीयवासीसहित चिकित्सकहरु पनि मंगलबारदेखि विरोधमा उत्रिएका हुन् ।

केसीका मागहरु उपयुक्त रहेकाले माग पूरागरी उनको जीवनरक्षा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

केसी अनशनरतस्थल अनुपयुक्त रहेको भन्दै उपचारमा आएको मेडिकल टोली पनि फिर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाको कभर्डहलको भुइँमा डा. केसी अनशन बसिरहेका छन् ।

प्रहरी निगरानीकैबीच आफ्नो अनशन जारी राखेका डा. केसीको समर्थनमा मंगलबार जुम्लावासीले अर्धनग्न जुलुससमेत प्रदर्शन गरेका छन् ।

जुम्लामा सत्याग्रह थालेको चार दिनपछि डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै कर्णाली प्रदेशका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल चिकित्सक संघ जुम्लाले कर्णाली प्रदेशअन्तर्गत्का सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पारी डा. केसीको जीवनरक्षाको माग गरेको छ ।

डा. केसीलाई सुविधा–सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न जिल्ला प्रशासन कार्यालयलाई संघले सोमबार २४ घन्टे ‘अल्टिमेटम’ दिएको थियो ।

प्रशासनले आफ्नो माग सुनुवाइ नगरेको भन्दै बाध्य भएर स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा ठप्प पार्नुपरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।