काठमाडौं, माघ २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने निर्णय गरेको छ ।
संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले कांग्रेस नेताहरु गिरिजाप्रसादको नाममा तनहुँको दुलेगौंडामा खोलिएको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र र नेपालगन्जमा सुशील कोइरालाको नाममा खोलिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र अन्तर्गत राख्ने निर्णय सरकारले गरेपछि संसद अवरुद्ध नगर्ने निर्णय गरेको हो ।
बैठकले अमेरिकाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको विज्ञप्ति गलत भएको निश्कर्षसमेत निकालेको छ । नेपालको विकास निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध बिग्रने गरी अभिव्यक्ति सार्वजनिक गर्न नहुने कांग्रेसको तर्क छ ।
‘नेपालको खासै कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्वमात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको यो बैठक आपत्ति प्रकट गर्दछ ।’
गत हप्तामात्र नेकपा अध्यक्ष दाहालले विज्ञप्ति निकालेर भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले ६५ वर्षभन्दा लामो समयदेखि नेपालको भौतिक विकासमा सहयोग गरिरहेको अमेरिकाविरुद्ध दाहालको टिप्पणी गलत भएको बताए । दाहालको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वार्थलाई नै धक्का लागेको आरोप लगाउँदै प्रमुख सचेतक खाँडले त्यस्ता गतिविधि नगर्न सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्