Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


घाँटी भाँचिएर एकसिंगे गैंडा मर्‍यो


0
Shares

                                                                                 फाइल फोटो
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैंडा कुमरोजको कंकिट मचाननजिकै मरेको जानकारी दिए ।

मचाननजिकैको घोल (सिमसार)मा राति बिरामीजस्तो भएर बसेको गैंडा बिहान ११ बजे मरेको हो ।

अनुसन्धान गर्दा घाँटी भाँचिएको पाइएको भन्दै निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैरेले भाले लाग्नेक्रममा भाग्दा लडेर घटना भएको जानकारी दिए ।

केही दिनअघिमात्रै सोही सामुदायिक वनको इचर्नी खोलानजिकै मरेको गैंडाको बच्चा (केटो) गोहीले खाएको अवस्थामा फेलापारिएको थियो ।

अहिले मर्ने पोथी गैंडा त्यही केटोको आमा भएको अनुमान गरिएको डा. गैरेले बताए ।

चोरी–सिकार नियन्त्रण युवा जागरण अभियान (कुमरोज)का अध्यक्ष ईश्वरी पाठकले पछिल्लो समयमा गैंडाको राम्रो वासस्थान बन्दै आएको कुमरोजमा कालगति या विभिन्न कारणले गैंडा मरिरहेको भन्दै दुःख व्यक्त गरे । यसतर्फ निकुञ्जले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो गैंडा गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा रहेको तथ्यांक छ । एकसिंगे गैंडा नेपाल र भारतमामात्रै पाइन्छ । रासस