Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


बम टिपेर फाल्ने हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा, हवल्दार राना के भन्छन् ?


0
Shares

तुलसीपुर नगरपालिका वडा नम्बर–३ को आम्वासमा रहेको मतदान केन्द्रमा बुधबार अज्ञात समूहले बम फालेको थियो ।

नेपाल प्रहरीका साहसी हवल्दार दुर्गाबहादुर रानाले उक्त बम केही सेकेन्डमै जहाँबाट आएको हो, त्यहीँ फालेर मतदानमा खटिएका कर्मचारी र मतदातालाई बचाए ।

‘बिहान वरपर कुहिरो लागेको थियो, म मतदान केन्द्रको सुरक्षाका लागि खटिएको थिएँ, धुवाँ उड्दै एउटा डल्लो वस्तु मेरो अगाडि पर्‍यो र मैले झटपट टिपेर जहाँबाट आएको हो, त्यही फ्याकीदिएँ, अनि ठूलो आवाजमा पड्कियो’–हवल्दार रानाले भने ।

उनकाअनुसार बिहान करिब ९ः३० बजेको समयमा मतदान केन्द्रलाई लक्ष्य गरी उत्तरतर्फबाट बम प्रहार भएको थियो ।

रानाले भने–‘मलाई तालिममा सिकाइएको थियो, बम कस्तो र कतिबेला पड्कन्छ भनेर । सोहीअनुरुप मैले बम छोपेर फालेको हुँ ।’

उनले बम पड्केर हुने क्षतिबाट सबैलाई बचाउन पाउँदा आफूलाई गर्व लागेको बताए ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र प्रहरीका उच्च अधिकारीले साहसिक काम गरेको भन्दै हवल्दार रानालाई टेलिफोन गरेर धन्यवाद दिएका छन् ।

गृहमन्त्री शर्माले प्रहरी हवल्दार रानालाई पुरस्कृत गर्नेसमेत घोषणा गरेका छन् ।

सल्यानको शारदा नगरपालिका–१ निवासी राना २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । रासस