Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


समृद्धिको सपना यही सरकारले पूरा गर्छ : प्रधानमन्त्री


0
Shares

लहान, माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्ने बताएका छन् ।

सदरमुकाम सिरहामा शनिबार आयोजित सहिद हेमनारायण यादवको १५औं स्मृतिसभालाई सम्बोधन गर्दै उनले भने–‘गरिबी र बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौं । तपाइँहरु धैर्य गर्नोस्, तपाइँहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।’

प्रधानमन्त्री ओलीले व्यावहारिकरुपमा मुलुकको गरिबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत् प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको जानकारी दिए ।

उनले भने–‘प्रदेश नम्बर–२ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य सरकारले अगाडि बढाएको छ ।’

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नम्बर–२ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएकाले समाज परिवर्तनका लागि अब विलम्ब गर्न नहुने धारणा व्यक्त गरे ।

‘तराई–मधेस भएर बग्ने ठूल्ठूला नदीजस्तै कोसी–कमला डाइभर्सनलगायतका सिँचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुनु आवश्यक छ’–उनले भने–‘मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ । सहकारिताका माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेशमा निर्यात गर्नसकिए छिट्टै समृद्धि सम्भव छ ।’

प्रधानमन्त्री ओलीले भने–‘जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो । अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो । त्यसप्रति हामी पूर्णरुपमा प्रतिबद्ध छौं ।’

अब कुनैपनि बालबालिका विद्यालयभन्दा बाहिर नरहोस् भन्ने उद्देश्यले सरकारबाट विद्यालय भर्ना अभियान सन्चालन गरिएको बताउँदै उनले यसलाई सफल बनाउन अभिभावकसँग आग्रहसमेत गरे ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रदेश नम्बर–२ अर्थात् मधेसमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याइएको स्पस्ट पार्दै मधेसकै ‘लाइफलाइन’कारुपमा रहेको हुलाकी राजमार्गको स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।

हुलाकी सडकअन्तर्गत् कमला र बलान नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनसँग तोडेर एक वर्षभित्र निर्माण सकिनेगरी लुम्बिनी बिल्र्डस र शर्मा कन्ट्रक्सनलाई दिइएको बताउँदै उनले मधेसका जिल्लाको सदरमुकाम जोड्ने सडक चार लेनको स्तरोन्नतिका लागि डीपीआर बनाउने कार्य तीव्ररुपमा अघि बढेको बताए ।

मन्त्री महासेठले सिरहामामात्रै २५ ओटा सडक बनाउने कार्य अघि बढाइएको पनि जानकारी दिए ।

नेकपा प्रदेश नम्बर–२ का इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, प्रदेश अध्यक्ष प्रभु साह, प्रदेशसचिव सुमनराज प्याकुरेल, पूर्वमन्त्री अजयशंकर नायक (अविनाश)ले प्रदेश नम्बर–२ को विकास र समृद्धिका लागि सबैको सहयोग, समन्वय र सहकार्य आवश्यक भएको धारणा व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेकपालाई विभिन्न समयमा सहयोग गर्ने र पार्टी संगठन विस्तारमा योगदान दिने सिरहाका बलबहादुर सुनुवार, शनिश्चर सदा, इन्द्रलाल लामा, सप्तरीका अरुण साह (अनिल)लगायतलाई दोसल्ला ओढाएर सम्मान गरे ।

त्यस्तै, कार्यक्रममा संघीय समाजवादी फोरम, राजपा, नेपाली कांग्रेसलगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई प्रधानमन्त्री ओलीले अबिर–माला लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराए ।

यसअघि, शनिबारै प्रधानमन्त्री ओलीले सिरहा सदरमुकाममै नेकपाको पार्टी कार्यालय र चन्द्र मावि परिसरभित्र छात्रबास (होस्टल)कोसमेत शिलान्यास गरे ।

त्यस्तै, प्रधानमन्त्री ओलीले सिरहास्थित सहिद हेमनारायण चोकमा रहेको हेमनारायण यादवको सालिकमा माल्यार्पणसमेत गरे । रासस