प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कामु प्रधानन्यायाधीश पराजुलीको नाम प्रस्ताव गरेका थिए ।
बैठकले सर्वसम्मतिले प्रधानन्यायाधीशमा पराजुलीको नाम सिफारिस गर्ने निर्णय गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।
पराजुलीको नाम अब सार्वजनिक सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाइनेछ । समितिले उनको नाम अनुमोदन गरेपछि उनको नियुक्ति हुनेछ ।
प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि प्रधानन्यायाधीशको पद रिक्त छ । हाल वरिष्ठताका आधारमा न्यायाधीश पराजुली कामु प्रधानन्यायाधीश छन् ।
नेपालको संविधानको धारा २८४ मा प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिसको काम संवैधानिक परिषदले गर्ने व्यवस्था छ ।
जसमा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहने प्रावधान छ ।
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्यकारूपमा रहने व्यवस्था छ ।
गत जेठ ३० गतेको न्यायपरिषद बैठकले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि ६ जनाको नाम सिफारिस गरेको थियो ।
परिषदले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषदको सचिवालयमा पठाएको थियो ।
बैठकमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दलका नेता ओली, सभामुख ओनसरी घर्ती, उपसभामुख यादव, उपप्रधानमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोपालमान श्रेष्ठ उपस्थित थिए ।
पराजुलीको संक्षिप्त परिचय
प्रधानन्यायाधीशमा नाम सिफारिस भएका पराजुलीको जन्म २०१० वैशाख १६ गते कन्हु शिवपुर गाविस–६, तनहुँमा भएको थियो ।
पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट मानविकी संकायअन्तर्गत् ग्रामीण विकास र समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन् ।
पराजुलीले २०६७ मंसिरमा तत्तकालीन पुनरावेदन अदालतको मुख्य न्यायाशीश हुँदै सर्वोच्च अदातलमा २०७१ देखि न्यायाधीशकारुपमा काम सुरु गरेका हुन् ।
न्यायिक क्षेत्र संयोजक समितिका अध्यक्ष, सर्वोच्च अदालतका सूचना–प्रविधि समितिका सदस्यलगायत विभिन्न न्यायिक निकायमा रही काम गरिसकेका पराजुलीले जर्मनीको न्याय प्रणालीको अवलोकन भ्रमण, राष्ट्रिय तथा अन्तराष्ट्रिय न्यायिक सम्मेलनमा सहभागी भएका थिए ।
पराजुलीले जर्मन, लगर्जेवर्ग, फ्रान्स, स्वीट्जरल्यान्ड, वेल्जियम, नेदरल्यान्ड, भारत, संयुक्तराज्य अमेरिका, जापान, कोरियालगायत देशको भ्रमण गरेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्