Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो


0
Shares

कतारका राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले शुक्रबार (आज) गरेकोे शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री महराले नेपालीको सुरक्षाका बारेमा जानकारी लिए । आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको बताउँदै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

पछिल्लो समय कतारमा देखिएको कूटनीतिक समस्या वार्ता र संवादबाट सुल्झनुपर्नेमा जोड दिँदै उनले नेपालले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताए । उनले आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाए ।

मन्त्री महराले कतारका व्यवसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताए ।

जवाफमा कतारका राजदूत हमरले कतार र अरब राष्ट्रमा कतारका व्यवसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाए । उनले अरब मुलुकमा देखिएको कूटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रहिआएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

यसैबीच, परराष्ट्रमन्त्री महरासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अम्जद हुसेनले शुक्रबार (आज) नै शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच सार्कलाई क्रियाशील बनाउने सन्दर्भमा भएका निर्णयलाई द्रुत तवरले अगाडि बढाउने विषयमा छलफल भयो । सो अवसरमा मन्त्री महराले सार्कको मन्त्रिस्तरीय बैठक अगाडि बढाउन पहल गरिने बताए ।

उनले सार्क शिखर सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन नेपालले पहल गर्ने तथा सदस्य राष्ट्रबीच निरन्तर रुपमा द्विपक्षीय एवम् बहुपक्षीय छलफल गरेर अगाडि बढ्ने बताए ।

सो अवसरमा महासचिव हुसेनले सार्कलाई चलायमान गराउन सदस्य राष्ट्रले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, परराष्ट्रमन्त्री महरासँग नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले शिष्टाचार भेटवार्ता गरे । सो अवसरमा उनीहरुबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्रमन्त्रीका प्रेस संयोजक हरि लामिछाने जानकारी दिए । रासस