Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


माघ १९ अर्थात आजको दिनलाई ‘कालो दिन’का रुपमा स्मरण गरिदै


0
Shares

काठमाडौं । आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजनीतिक कू गरी शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको दिन ।

२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

योे दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिन्छ ।

पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए ।

दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए ।

एफएम रेडियोमा समाचार भन्न रोक लगाइएको थियो भने सञ्चार गृहमा सेना परिचालन गराइएको थियो ।

शाहको कदमपछि जनयुद्ध चलाइरहेको तत्कालीन माओवादी र संसदवादी दलहरु एकजुट भई राजाको प्रत्यक्ष शासनको विरुद्ध लागेका थिए ।

जसको फलस्वरुप २०६२/६३ सालको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरी मुलुकमा गणतन्त्र स्थापना भएको थियो ।

त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा गइसकेको छ ।

तर अझै पनि परिवर्तन संस्थागत गर्न दल र नेताको भूमिका राम्रो हुन नसकेको भन्दै नागरिकले चिन्ता व्यक्त गर्ने गरेका छन् ।