पोखरा लेखनाथ–१८, पर्स्याङपाखामा १४ बर्षीय बालक र पोखरा लेखनाथ–१९, लामाचौरमा ४० बर्षीय महिलाको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै फुस्रेखोलाले बगाउँदा ६५ बर्षीय बृद्धा बेपत्ता छिन् ।
पोखराको पर्स्याङपाखामा घरमाथिबाट खसेको ढिस्कोले पुरिएर १४ बर्षीय टंक क्षेत्रीको ज्यान गएको हो । स्याङजा घर भई पोखराको धर्मस्थली स्कुलमा कक्षा ८ मा अध्ययनरत क्षेत्री ठूलोबुवा तारापति अधिकारीको घर गएका बेला पहिरोमा पुरिएका हुन् ।
त्यस्तै पोखराको लामाचौरमा पहिरोले घर बगाउँदा ४० बर्षीय शोभा पौडेलको ज्यान गएको छ । ठूलो बर्षा भएपछि राती घरको भान्छाकोठा बन्द गर्न गएका बेला पौडेललाई पहिरोले बगाएको थियो ।
पोखरा लेखनाथ १९ लामाचौरकी उनको शब विहान घर भन्दा दुई सय मिटर तलबाट निकालिएको हो ।
बर्षाको कारण पोखराका विभिन्न स्थानमा पहिरो खस्दा केही घर समेत जोखिममा परेका छन् । पोखरा लेखनाथ १८ मेथ्लाङको डाडाबाट खसेको पहिरोले १० भन्दा बढी घर जोखिममा छन् ।
यसैबीच पोखराको फुस्रे खोलाले बगाउँदा ६५ बर्षीय बृद्धा बेपत्ता भएकी छिन् । शनिबार साँझ खोला तर्ने क्रममा पर्वत, तिलाहार–६ की लिला लामिछानेलाई खोलाले बगाएको थियो । उनको अवस्था अज्ञात छ ।
बर्षाकै कारण पोखरा लेखनाथ–१७ मा जमिन भासिएको छ । स्थानीय होमनाथ चापागाईको घर नजिकै जमिन भासिएको हो ।
यसअघि सोही स्थानदेखि ५० मिटर तल जमिन भासिएको थियो । बर्षाको कारण दामोदर खोलामा पानीको बहाव बढेपछि दामोदर कुनाका १५ भन्दा बढी घर डुबानमा परेका छन् ।
पोखराको घारिपाटनस्थित सेती किनार, लामाचौर, विन्ध्यावासिनी लगायतका विभिन्न क्षेत्रमा जमिन भासिएको छ ।










प्रतिक्रिया दिनुहोस्