
काठमाडौं, असार १९ । थाइल्यान्डको चियाङ रायमा रहेको थाम लुवाङ गुफामा नौ दिनदेखि बेपत्ता १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई गुफाबाट निकाल्न महिनौंसम्म पनि लाग्न सक्ने देखिएको छ ।
थाई सेनाले उनीहरुले पौडिन सक्नुपर्ने वा पानी घट्न महिना दिनसम्म कुर्नुपर्ने जनाएको छ । उनीहरुलाई कम्तिमा चार महिनासम्मका लागि पुग्ने गरी खाना पठाउनुपर्ने थाई सेनाको भनाई छ ।
ब्रिटिश गोताखोरले सोमबार राति गुफामा सकुशल भेटेका ११ वर्षदेखि १६ वर्षसम्मका ती स्कुले विद्यार्थी वाइल्ड बोअर सकर टिमका सदस्य थिए ।
बाढीका कारण गुफामा पानीको स्तर बढेको र गुफाभित्र पूरै लेदो पसेकाले उद्दारमा कठिनाई भएको छ ।
थाई अधिकारीहरुले औषधी र चिकित्सकलाई गुफा भित्र पु¥याउन खोजीरहेका छन् ।
पानीको भेल पसेको गुफाभित्रबाट उनीहरुलाई निकाल्न निकै गाह्रो देखिएको छ ।
गुफाभित्र थकित र शक्तिहीन भएका उनीहरुलाई गुफाको पानी तानेपछि निकाल्ने वा उनीहरुमा शक्ति आएपछि निकाल्ने भन्ने निर्णय गरिनु पर्नेछ ।
नौ दिन अघि फुटबल प्रशिक्षकले स्कुले विद्यार्थीहरुलाई गुफामा घुमाउन लगेका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएको थियो ।
पानीले घेरिएको चट्टानमाथि बसिरहेको अबस्थामा दुई जना ब्रिटिश गोताखोरहरुले घण्टौको प्रयासपछि उनीहरुलाई भेटेको भिडियो सार्वजनिक भएको छ ।
बर्खाको समय उक्त गुफामा सधैं पानी भरिन्छ र यो पानी सेप्टेम्बर या अक्टोबर महिनासम्म रहन्छ ।
गुफाको पानी पम्पबाट निकाल्ने प्रयास भैरहने पनि यो त्यति प्रभावकारी भएको छैन ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्