बाढीपहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन • Image Khabar Image Khabar


बाढीपहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन


Imagekhabar
१९ असार २०७५, मंगलवार ००:३८

बाढीपहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई कांग्रेसको निर्देशन

काठमाडौं, असार १९ । नेपाली कांग्रेसले बाढीपहिरो पीडितको उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

‘बाढीपहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि नेपाली कांग्रेस निर्देश गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानको कारण देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । ‘बाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा डेढ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएका छन्, हजारौ हेक्टर खेतीयोग्य जमिन डुबानमा परेको, पहिरो र डुबानका कारण सडक यातायात अवरुद्ध भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

बाढी र पहिरोमा परि जीवन गुमाएका सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले उनीहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ । कांग्रेसले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

‘प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बाढी, पहिरो र डुबानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत सरकारसँग आग्रह गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस्