
नेवाः फिल्म सोसाइटीको आयोजनामा ‘नेवाः चलचित्रको आलेख (स्क्रीप्ट) लेखन’ विषयक दुईदिने कार्यशाला गोष्ठीको समापन कार्यक्रममा उनले चलचित्र विकास बोर्डबाट जनजाति चलचित्रकर्मीहरुका केही मागको सम्बोधन भएपनि अझै थुप्रै समस्याहरु यस क्षेत्रमा रहेको बताए ।
भाषा र संस्कृति नै नबुझ्ने समुदायले जनजाति चलचित्रहरु सेन्सर गर्ने हुँदा चलचित्रमा देखाइने जनजाति संस्कृति र मुद्दाहरुमा कैंची चलिरहेको उनको भनाइ थियो ।
राज्यले जनजाति अनुकुल नीति नबनाएसम्म जनजाति चलचित्र क्षेत्रको विकासका लागि आफूहरु संघर्षशील रहने सुनुवारले बताए ।
कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले देशैभरिका नेवार चलचित्रकर्मीहरुले एउटै साझा डबलीको विकास गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले देश–विदेशमा रहेका नेवार चलचित्रकर्मीहरु एकैथलोमा संगठित भइ अगाडि बढेमा नेवार साथै नेपालभरिका सबै जनजाति समुदायकोसमेत सांगठनिक विकासमा टेवा पुग्ने बताए ।
सोसाइटीका अध्यक्ष लुःजः सिंहले नेवाः चलचित्र क्षेत्रको बृहत्तर विकासका साथै दक्ष जनशक्तिको विकासमा सोसाइटी केन्द्रित रहेको जानकारी दिए ।
सिंहले सोसाइटीले निकट भविष्यमै आलेख लेखनका साथै चलचित्रका विभिन्न प्राविधिक पक्षलाई लिएर बृहत् कार्यशाला गोष्ठी आयोजना गर्ने बताए ।
गत वर्ष धरानबाट सन्चालन भएको नेवाः चलचित्र महोत्सवको दोस्रो संस्करणको साथमा दोस्रो एनएफएस संकिपा सम्मान कार्यक्रमको पनि निकट भविष्यमै काठमाडौंमा आयोजना गर्ने जानकारी पनि सिंहले दिए ।
नेवार चलचित्रसँगै आदिवासी चलचित्रको आलेख लेखनको सैद्धान्तिक एवं व्यवहारिक पक्षकोबारेमा जानकारी गराइएको गोष्ठीको पहिलो दिन चलचित्रकर्मी अनुप सुवेदीले चलचित्रको स्क्रीप्ट लेखनशैली र यसका विभिन्न पक्षहरुकोबारेमा जानकारी दिएका थिए ।
दोस्रो दिन वरिष्ठ सिने पत्रकार एवं चलचित्र निर्देशक विजयरत्न तुलाधरले नेपालभाषाको चलचित्रको स्क्रीप्टमा चल्दै आएको ट्रेन्डकोबारे जानकारी गराएका थिए ।
उनले यसका कमी–कमजोरी, सुधार गर्नुपर्ने पक्ष तथा स्तरीयताकोबारे विश्लेषणात्मक प्रशिक्षण दिएका थिए भने वरिष्ठ आदिवासी जनजाति चलचित्रकर्मी नबीन सुब्बाले आदिवासी जनजाति चलचित्रको स्क्रीप्ट लेख्दा ध्यान दिनुपर्ने पक्षहरुकोबारेमा प्रशिक्षण दिए ।
प्रतिक्रिया दिनुहोस्