Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त)


0
Shares

कृष्णराज गौतम (रासस)

काठमाडौं, माघ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ ।

सबै धर्मबीच समानता, पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र, सबै पक्षलाई चित्तबुझ्ने सहमति र साझा संस्थाकारुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिकारुपमा पार्टीले अवलम्बन गर्नेछ ।

संविधानको असहमतिलाई यथावत् कायम राख्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने उक्त पार्टीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले आधार बनाएको छ ।

राप्रपा (प्र)का अध्यक्ष पशुपतिशमशेर जबरा र एराप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि बिहीबार हस्ताक्षर गरेका छन् ।

देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त र अवधारणालाई संरक्षण गरी एकता प्रक्रिया अगाडि बढाउने उद्देश्यसाथ चाबहिलस्थित केन्द्रीय कार्यालयमा दुवै नेताले बिहीबार हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष डा. लोहनीले मुलुकमा भएका राजनीतिक परिवर्तनअनुसार जनतालाई अधिकारसम्पन्न तथा उनीहरुको सामाजिक रुपान्तरण हुन नसकेका कारण एकता गरिएको बताए ।

अर्का अध्यक्ष राणाले अहिलेको अवस्थामा कुनैपनि दलको एक्लो प्रयासले राष्ट्रको विकास र समृद्धि सम्भव नरहेको बताउँदै देश र जनताको हीतअनुसार नीति बनाएर सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार एकता घोषणा गरिने र एक महिनाभित्रमा दुवै पार्टीको विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिनेछ । करिब एक वर्षभित्रमा एकीकृत पार्टीको महाधिवेशन सम्पन्न गरिनेछ ।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत् पार्टी सन्चालन गरिनेछ ।

पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ ।

दैनिक कार्यसन्चालनका लागि दुई अध्यक्ष रहेको निर्देशक समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने राप्रपा (प्र) नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

सचिवालयको काम, कर्तव्य र नियुक्ति तथा अधिकारसम्बन्धी कार्यविधि निर्माण र जिम्मेवारीको बाँडफाँटका लागि विभाग गठन गरिनेछ । पदाधिकारी तथा केन्द्रीय सदस्यको मनोनयन सहमतिमा गरिनेछ ।

नेता सुन्दर पाण्डेकाअनुसार चुनाव चिह्न ‘हलो’ राख्ने सहमति भएको नयाँ पार्टीमा कार्यसम्पादनको सिलसिलामा कुनै बाधा–अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ ।

एकतापछि दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उत्साहका साथ संगठन विस्तारमा क्रियाशील हुन आग्रह गरिएको छ ।

देशका सबै गाउँपालिकामा छरिएर रहेका पार्टी कार्यालयहरुमा दीपावली गर्न अनुरोध गरिएको छ ।

मुलुकमा बहुदलीय प्रणालीको व्यवस्था भएपछि तीन दशक लामो पञ्चायती व्यवस्थामा क्रियाशील नेताहरुले वि.सं. २०४७ जेठ १५ गते स्थापना भएको उक्त पार्टी विभिन्न कारणले जुट्ने र फुट्ने गर्दै आएको छ ।