काठमाडौं, माघ १७ । सरकारले डा. गोविन्द केसीलाई अनशन तोडेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यान्वयनको अगुवाइ गर्न आग्रह गरेको छ ।
बिहीबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले एक कदम अगाडि बढेर डा. केसीका सबै माग पूरा गरेको भन्दै ‘अबपनि अनशनलाई निरन्तरता दिनुको औचित्य छैन’–भने ।
‘पश्चिम ताकेर पूर्व हिर्काउने काम स्वीकार्य नभएको’ भन्दै उनले ‘कुन्ठा र पीडाका कारणमात्र नेपाली कांग्रेसले संसदीय प्रक्रिया अवरुद्ध गरिरहेको’ आरोप लगाए ।
नेपाल र भारतका प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन ‘चीनको हातमा पुगेको’ भन्ने जिज्ञासामा उनले सरकारलाई सो विषयमा थाहा नभएको बताए ।
भेनेजुएलालगायत सबैसँग मित्र राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध राख्ने परराष्ट्रनीति रहेको दाबी पनि उनले गरे ।
निर्णय सार्वजनिक
सो अवसरमा गत माघ १४ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका ८ ओटा निर्णयहरुसमेत सार्वजनिक गरिएको थियो ।
जसअनुसार नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर आपूर्तिसम्बन्धी काम गर्न छुट्टै कम्पनी बनाउने निर्णय गरिएको छ ।
यस्तै, विभिन्न देशहरुमा जाने नेपाली राजदूतहरुको नियुक्ति र शपथ राष्ट्रपतिबाट गराउनका लागि निर्देशिका संशोधन गर्ने निर्णय भएको पनि जानकारी दिइयो ।










प्रतिक्रिया दिनुहोस्