काठमाडौं, माघ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद् राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पठाइएको विधेयक बिहीबार बहुमतले पारित भएको हो ।
बैठकको सुरूदेखि नै कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए ।
चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएपनि अवरोध गरेकाले उनीहरूले छलफलसमेत बहिस्कार गरे ।
बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले अनशनरत् डा. गोविन्द केसीसँग वार्ताका लागि टोली गठन गरेर वार्ता गर्न आग्रह गरेका थिए ।
सो विधेयकमा संशोधन हालेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद वृजेशचन्द्र लालले छलफलमा सहभागी हुँदै डा. केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गर्नुपर्ने माग गरे ।
तर, उनको प्रस्ताव बहुमतबाट अस्वीकृत भयो । विधेयकमाथिका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।
कांग्रेस सांसदहरुको विरोधकाबीच अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत् गरे । त्यसपछि बहुमतका आधारमा विधेयक पारित भएको हो ।
प्रतिनिधिसभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि लागू हुनेछ ।
राष्ट्रियसभाको अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ ।









प्रतिक्रिया दिनुहोस्