Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


कांग्रेसको अवरोध, प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित


0
Shares

काठमाडौं, माघ १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ ।

अनशनरत् डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै बैठक चल्न नदिने कांग्रेसको अडानका कारण बैठक अवरुद्ध भएको हो ।

कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने जनाएलगत्तै कांग्रेस सांसदहरु उभिएर संसद अवरोध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले बस्न आग्रह गर्दै संसदको नियमित कारबाही अगाडि बढाउने जनाएपनि कांग्रेस सांसदहरुले विरोध गरेपछि संसद बैठक आगामी आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि, सभामुख महराले बैठक सुरु गरेलगत्तै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि कांग्रेस सांसद डा. मीनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।

सांसद रिजालले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गलत प्रक्रियाबाट पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवनरक्षा गर्नुपर्ने बताए ।

‘चिकित्सा शिक्षा विधेयक सुधार हुने बाटो बन्द नगरौं’ भन्दै उनले ‘राष्ट्रियसभा यो मार्गमा अगाडि बढोस्’–भने ।

‘निरीह अनशनकारी जो आफ्नो विचारका लागि लडेको छ । सत्याग्रहमा बसेको छ । उसको ज्यान लिन खोज्ने कि बचाउने ?’ उनले प्रश्न गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली ‘दुईतिहाइको दम्भका कारण आफ्नो रुप हेरेर आफैं दंग परेको’ भन्दै सांसद रिजालले व्यंग्य गरे ।

उनले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले ‘शान्ति–प्रक्रिया एवं संविधान निर्माणमा पुर्‍याएको योगदान बिर्सन खोजिएको हो ?’ भनी प्रश्न गरे ।

संवैधानिक परिषदले विभिन्न आयोगका प्रमुखमा सिफारिस गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

सांसद रिजालले संवादको वातावरण बनाउन सभामुख महरालाई आग्रहसमेत गरे ।